बाँके ।
मिनी संसदको रूपमा चिनिने लुम्बिनी प्रदेशसभाका संसदीय समितिका सभापति समेत अझैसम्म चयन हुन सकेका छैनन् । संसदीय समिति गठन भएको एक महिना बितिसक्दा पनि समितिहरूले सभापति पाउन नसकेका हुन् ।
दलहरूले सहमतिकै आधारमा संसदीय समितिका सभापतिहरू चयन गर्ने जनाएका थिए । प्रदेशसभाको विषयगत समितिका सभापति चयनमा ढिलाइ हुँदा व्यवस्थापिकाको भूमिका कमजोर बनेको छ ।
विषयगत समितिका सभापति चयन नहुँदा सरकारका कामकारबाही माथि निगरानी गर्न समस्या भएको एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । उनले प्रदेशसभाअन्तर्गतका समितिको सभापति चयन गर्न नसक्दा प्रदेशबासीको हितमा गर्नुपर्ने काम कारबाही सुस्त भएको दाबी गरे ।
संसदीय समितिका सभापति चयन नभए पनि प्रदेशसभा नियमावलीमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने विषय प्रस्ट भएका कारण बैठक राख्न समस्या भने छैन । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले प्रदेशसभामा गठन भएका ६ समितिमध्ये केहीको बैठक बसेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्