मानव बेचबिखनको नयाँ शैलीः भारतमा नेपाली महिला ‘भाडा’की आमा बन्न बाध्य



रोजगारीका लागि भारतको मुम्बई पुगेका बाँकेका दुई जना महिलालाई त्यहाँ बन्धक बनाएर सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया)मा प्रयोग गरियो । बच्चा जन्माइसकेपछि घर पठाइएका ती महिला माइती नेपाल नेपालगन्जको ‘सेल्टर’ मा बसे र परामर्शपछि परिवारमा पुनस्र्थापना भएका छन् ।

कमल डाँगी । नेपालगन्ज ।

रोजगारीको प्रलोभन देखाएर भारतको मुम्बईमा पु¥याइएका नेपाली महिलाहरूलाई सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया)मा प्रयोग गरिएको पाइएको छ । हालै मात्र त्यसबाट पीडित बनेका बाँकेका दुई जना महिला (नाम र ठेगाना गोप्य) माइती नेपाल नेपालगन्जको सम्पर्कमा आएका छन् । उनीहरूलाई बच्चा जन्माइसकेपछि घर पठाइएको थियो ।

घर फर्किएपछि माइती नेपाल पुगेका उनीहरूले आफूहरूमाथि घटेको बर्बर घटनाको वृत्तान्त सुनाएपछि नेपाली महिलालाई भारतमा बन्धक बनाएर भाडाकी आमा बन्न बाध्य पार्ने गरेको रहस्य पत्ता लागेको हो । ती महिला माइती नेपाल नेपालगन्जको ‘सेल्टर’ मा बसे र परामर्शपछि परिवारमा पुनस्र्थापना भएका छन् ।

पीडित महिलाहरू आफन्तको सहारामा रोजगारीका लागि मुम्बई पुगेका थिए । त्यहाँ उनीहरूलाई एउटा फ्ल्याटमा बसाइयो र केही दिनपछि ‘अब तिमीहरूले बच्चा जन्माउने काम गर्नुपर्छ’ भनियो । उनले प्रतिवाद त गरिन तर बन्धक बनाएका कारण त्यहाँबाट उन्मुक्ति पाउन सकिनन् । अन्ततः बच्चा जन्माइसकेपछि मात्रै घर पठाइयो ।

ती महिलाको भनाइ उद्धृत गर्दै माइती नेपाल स्रोतले भन्यो, ‘बच्चा जन्माउन अघिसम्म राम्रैसँग खानेकुरा दिइयो, स्वास्थ्य परीक्षण पनि गरियो तर त्यसपछि भने केही वास्ता गरिएन र घर पठाइयो ।’ घर फर्किएका महिलाका अनुसार, त्यहाँ फ्याट लिएरै महिलालाई बच्चा जन्माउन बाध्य पारिएको छ र त्यहाँ नेपाली महिला धेरै छन् । उनीहरूकै सूचनाका आधारमा माइती नेपालले उद्धार प्रयास गरेको भए पनि त्यहाँ जाँदा फ्ल्याट नै फेरिएको पाइयो ।

यसरी जबर्जस्ती भाडाकी आमा बन्न बाध्य पारिएका महिलाको संख्या अरू पनि भएको सूचना भए पनि सामाजिक अपहेलनामा पर्ने डरले उनीहरू खुल्न चाहिरहेका छैनन् । माइती नेपाल नेपालगन्ज कार्यालयका प्रमुख अधिवक्ता केशव कोइराला भन्छन्, ‘भारतमा जबर्जस्ती भाडाकी आमा बन्न बाध्य पारिएका पीडितहरू सम्पर्कमा आएका छन् । नेपाली महिलालाई सरोगेसीमा प्रयोग गरिएको घटना मानव बेचबिखनको नयाँ रूपमा देखापरेको छ, जुन अत्यन्तै संवेदनशील विषय हो । हामी थप पीडित छन् कि भनेर बुझिरहेका छौं ।’

यस्ता पीडितहरू परिवार र समाजमा अपहेलित हुने त्रासले आफूमाथि घटेको घटनाका बारे कसैलाई बताउन चाह“दैनन्, त्यसैले कति पीडित त न्यायका लागि प्रहरीसम्म पुग्दैनन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार, नेपालमा कोख भाडामा लिएर बच्चा जन्माउनु कानुनविपरीत मानिन्छ ।

त्यस्तो कार्य कसैले गरे-गराए कानुनअनुसार कारबाही हुने व्यवस्था भए पनि नेपाली महिलाहरूलाई भारतमा जबर्जस्ती कोख भाडामा लिएर प्रयोग गरिएको विषयमा कुनै उजुरी र जानकारी नआएको डिएसपी डाँगीले बताए । उनले भने, ‘मानव बेचबिखनका उजुरीहरू आएका छन् तर ठ्याक्कै सरोगेसीकै विषय भने आएको छैन ।’

अरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रक्रियालाई सेरोगेसी भनिन्छ । यो नेपाल र भारतमा कानुनीरूपमा अवैध छ तर लुकिछिपी यस्तो कार्य भइरहेका छन् । अझ नेपाली महिलालाई भारतमा लगेर जबर्जस्ती सरोगेसीमा प्रयोग गरिएको घटना नौलो हो । विगतमा यौन तथा शारीरिक काममा नेपाली महिलालाई प्रयोग गरिएका घटना सार्वजनिक हुने गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार