ज्ञानमाया थापा । कोहलपुर ।
वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकार र सीमान्तकृत समुदायको महत्वपूर्ण भूमिका रहने सरोकारवाहरूले बताएका छन् । वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकारहरूको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले महिला पत्रकारलाई सवल र सक्षम बनाउन यस्ता कार्यक्रमले निकै सहयोग पुग्ने बताइन् । बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत उत्तम चौधरीले वन, वन्यजन्तु र निकुञ्जका विषयमा विविध जानकारी गराएका थिए ।
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरेको उनले जानकारी दिए ।
यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।
जिल्ला वन कार्यालय बाँकेका प्रमुख गणेश खड्काले वन र वन्यजन्तुको संरक्षणका लागि स्थानीय सरकार र सुरक्षाकर्मीको समन्वयमा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारी, जेडएसएल नेपाल बाँकेका प्रमुख श्रीराम घिमिरेले संरक्षणका विषयमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्