बाँकेमा बढे भाइरलफ्लूका बिरामी



नेपालगन्ज ।

बाँकेमा सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको संख्या बढेको छ ।

यहाँका अस्पतालहरू यस्ता बिरामीहरूले भरिन थालेका छन् । सामान्य अवस्थामा भन्दा अहिले धेरै बिरामी स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहेको अस्पतालहरूले जानकारी दिएका छन् ।

घाम लागेको बेला वर्षा वा वर्षा भइरहेको बेला घाम लाग्ने गरेका कारण यस्ता बिरामीहरूको संख्या बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नहुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायतका अस्पतालमा भाइरलको सङ्क्रमणका बिरामीको चाप बढेको छ ।

सिजनल भाइरलफ्लूबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ ।

प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार