बाँके ।
बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज जाँदै गरेको भे१ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर लैजाँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो र चालकलाई पक्राउ गरिएको हो ।
अटोको डिक्कीमा लुकाइछिपाई नेपालगन्ज लैजाँदै गरिएको अवस्थामा शनिबार अपराह्न साढे ४ बजे राप्तीसोनारी–६ का अटो चालक हरि परियारलाई मासुसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए ।
पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आवश्यक कारबाहीका लागि शनिबार राति नै डिभिजन वन कार्यालय बाँकेमा पठाइएको डाँगीले बताए ।
डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख वन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई बुझाएको पुष्टि गरे । कार्यालय खुलेपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
परियारलाई वन्यजन्तु ऐनअनुसार मुद्दा अगाडि बढाइने खड्काले बताए । पक्राउ परेका परियारबाट बरामद गरिएको मासु कसले कहाँ पठाएको हो भन्नेबारे अझै केही खुलिनसकेको निमित्त प्रमुख वन अधिकृत खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्