कोहलपुरमा लागूऔषधविरुद्ध अभिमुखीकरण



शिवानी विक । कोहलपुर ।

बाँकेमा पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको वृद्धिसँगै समाज सेवा बाँकेले यसको न्यूनीकरणका लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइतबार कोहलपुर–९ स्थित मिसन पब्लिक स्कुल परिसरमा लागूऔषध क्षति न्यूनीकरणसम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरको आयोजना तथा समाज सेवा संस्था नेपालको सहजीकरणमा विद्यालय तथा कलेजस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको समाज सेवा संस्था बाँकेका केन्द्रीय अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कोहलपुर–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगीले लागूऔषध अहिलेको साझा समस्या भएका कारण यसको माग घटाउने अभियान र वितरण नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । उनले लागूऔषधको कारोबार र सेवनमा कमी ल्याउन विद्यालयकेन्द्रित कार्यक्रम र लागूऔषध जोखिम न्यूनीकरण कार्यक्रम गरिएको बताए ।

यस्तै, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले अहिलेका युवाहरू लागूऔषधमा बढी फसेको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषधविरूद्व सचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीनारायण चौधरीले विद्यार्थीहरू लागूऔषधको दलदलमा नफसून् भन्ने उद्देश्यका साथ समाज सेवा संस्थासँग समन्वय गरी कार्यक्रमको आयोजना गरिएको बताए । उक्त अवसरमा लागूऔषध दुव्र्यसनको अवस्था, कारण र समस्या समाधानका विषयमा विभिन्न प्रस्तुति दिइएको थियो ।

प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार