बाँके ।
कोहलपुरमा रहेका विभिन्न धार्मिक संघ संस्थाहरू ओमकार परिवार, तथा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेले विभिन्न सञ्चारमाध्याममार्फत कोहलपुर नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय सरकारले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय तहमा सम्बन्धित गौशाला समितिसँग सहकार्य गरी उचित भूमिका निर्वाह गर्न अनुरोध गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले कोहलपुर नगरपालिकालाई छाडा पशुचौपाया मुक्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आफ्नो नगरभित्रका छाडा चौपायाहरूलाई कान्जीहाउसमा लगेर व्यवस्थापन गरेको अवस्थामा कोहलपुर नगरपालिकाले समेत छाडा पशुचौपायाहरूको उचित व्यवस्थापन र उनीहरूका लागि आहारको समेत व्यवस्था गर्नुपर्ने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेका संयोजक प्रमातकुमार श्रेष्ठले बताए ।
नगरपालिकाभित्र छाडा पशुचौपायाको उचित व्यवस्थान गरी पूर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्गलाई निर्वाधरूपमा सञ्चालनको व्यवस्था मिलाउन श्रेष्ठले आग्रह गरे । ‘छाडा चौपायाको नियन्त्रण गर्नु कोहलपुर नगरपालिकाको जिम्मेवारी हो,’ श्रेष्ठले भने, ‘कोहलपुर बजार क्षेत्रमा छाडा चौपायाका कारण सवारी दुर्घटना हँुदा मानवीय तथा पशुचौपायासमेतको क्षति भोगिरहनुपरेको छ ।’
स्थानीय सरकार सञ्चालन ऐन, २०७७ को दफा ११ २ ञ अनुसार छाडा चौपायाको नियन्त्रण गर्ने जिम्मा पालिकाहरूको हो । कोहलपुर नगरपालिकाले कानुनले निर्धारण गरेको ऐनअनुसार राजमार्गलाई खुलारूपमा आवागमनको व्यवस्था मिलाउनु आवश्यक रहेको उनको भनाइ छ ।
कोहलपुरका मुख्य सडकहरूमा छाडा चौपायाका कारण सवारी आवागमनमा बाधा उत्पन्न हुने गरेको छ । यदि छाडा चौपाया जानाजान छोड्ने गरेको पाइए नगरपालिकाले त्यस्ता चौपाया धनीलाई कडाइका साथ जरिवाना तिराउनुपर्ने उनीहरूको भनाइ छ ।
रामजानकी गौशालाका भोला शर्माले गौशालामा भएका पशुचौपायाहरूलाई दानापानी पु¥याउन कठिन भएको जनाउँदै थप भएर आउने पशुचौपायाका लागि नगरपालिकाले दानापानीको समेत व्यवस्था गर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्