नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा कुकुरले टोकेमा नलगाई नहुने रेबिज विरुद्धको खोप छैन । पश्चिमकै ‘रेफरल’ अस्पतालका रूपमा रहेको भेरीमा यसक्षेत्रका बिरामीहरू रेबिजको खोप पाइने आशामा आउने गर्छन् । पाँच महिनादेखि आंशिक अभाव झेलिरहेकोमा दुई सातादेखि अस्पतालमा खोप छँदै छैन ।
‘चिकित्सकले नलगाई नहुने भनेर सिफारिस गर्नुभएका बिरामीले अन्यत्रबाट खोप लिएर आउनुभयो भने अन्य सेवा दिन सक्छौं,’ भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संकेत रिसालले भने, ‘अन्यथा अहिले भेरीमा रेबिजविरुद्धको खोप छैन ।’
सरकारले नै व्यवस्था नगरिदिएका कारण खोप अभाव भएको हो ।
अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितको गुनासो छ । भेरी अस्पताल, नेपालगन्जले एक सूचना प्रकाशित गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिएको छ । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ ।
नेपालगन्ज–१२ की राम हरिजनले अस्पताल बाहिरबाट खोप लिएर छोरालाई लगाएको बताए । उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गर्दै भने, ‘तर भेरीमा छैन भनेपछि बाहिरबाट किन्न बाध्य भएँ ।’
डा. रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए । ‘अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो,’ उनले भने ।
अस्पताललाई हालसम्म मासिक ८ सय भायल एआरभीको कोटा प्राप्त भए पनि माग उच्च रहेको अवस्थामा सोभन्दा बढी पनि वितरण गरिएको थियो । नियमित रूपमा बुटवलबाट प्राप्त हुने उक्त भ्याक्सिनको मौज्जात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भए पनि बिरामीलाई लगाइएको थियो ।
‘तर हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त भ्याक्सिनको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको छ ।अस्पतालमा रहेको मौज्दात पनि सकिएको अवस्था छ ।’ अस्पतालको सूचनामा भनिएको छ, ‘अतः उक्त भ्याक्सिनको आपूर्ति सुचारु नहुन्जेल निःशुल्क ‘कुकुरले टोकेकोमा लगाउने सुइ’ सेवा सुचारू राख्न हामी असमर्थ छौं ।’
तर यदि चिकित्सकले अपरिहार्य ठह¥याएको अवस्थामा बिरामीले आफैँ उक्त भ्याक्सिन खरिद गरी आएमा अहिले सेवा दिँदै आइरहेको स्थानबाट सुइ भने लगाइने अस्पतालले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्