‘बढ्दो सवारी दुर्घटना न्युनिकरण प्राथमिकता’



नेपालगन्ज ।

बाँकेमा ट्राफिक सचेतनाका लागि प्रहरीले आम नागरिकसँग सहकार्य गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणमा ट्राफिक नियम सचेतना अभिबृद्धि गर्नका लागि नागरिकसँग सहकार्य गरेर कार्यक्रम गर्नेे भएको हो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका नयाँ प्रमुख ट्राफिक प्रहरी निरीक्षक तथा गोपीकृष्ण सुवेदीले आमनागरिकमा ट्राफिक नियम, मापदण्ड तथा नेपालगन्ज शहरमा सवारी साधानको व्यवस्थापनका लागि नागरिकसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले बढ्दो सवारी दुर्घटना रोक्ने बिषयलाई आफूले प्राथमिकतामा राखेको बताए । पश्चिम नेपालको हब रहेको बाँकेको नेपालगन्ज र कोहलपुर जस्तो बजारमा सवारी साधानलाई कारबाहीभन्दा उनीहरुलाई नै सर्वसाधारणमैत्री बनाउन प्रहरीले नागरिकसँग सहकार्य गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

ट्राफिकमा सिमित दरबन्दीका बाबजुद पश्चिमको ठूलो शहरको व्यवस्थापनमा चुनौती समेत रहेको प्रमुख सुवेदीले बताए । बढ्दो सवारी साधानको प्रयोग, बाटोघाटोको बिस्तार, शहरीकरण पनि पनि सवारी साधनको व्यवस्थापनमा चुनौती नै थपिरहेको उनले जनाए ।

‘हामीले सबै सवारी धनी र चालकलाई एकै किसिमको व्यवहार प्रर्दशन गर्न चाहेपनि कतिपय अवस्थामा यस्ता व्यक्तिहरु नै अट्टेरी गर्छन,’– प्रमुख सुवेदीले भने,– ‘त्यस्तो अवस्थामा बाध्यताबस कारबाही गर्नुको अर्को कुनै बिकल्प नै हुँदैन ।’

बढ्दो अटोरिक्सा, बिभिन्न साधानहरु, मोटरसाइकल दैनिक दुर्घटना हुनुको पछाडी बाटो पनि एउटा कारण रहेको बताउ“दै प्रमुख सुवेदीले बाटोमा हिड्ने सर्वसाधारण, सवारी धनी, चालक, व्यवसायीले पनि ध्यान दिनुपर्ने बताए । यस्ता तमाम समस्याहरुको समाधानका लागि सबै क्षेत्रका व्यक्तिहरुलाई ट्राफिक नियमको पालना गर्न जिम्मेवारी बनाउन नागरिकसँग सहकार्य गर्ने प्रमुख सुवेदीले स्पष्ट पारे ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार