कोहलपुर क्रिकेट मैदान जग्गा: लगत संकलन गर्न पाँच दिनको म्याद थप



बाँके ।

कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जग्गामा बनेमा संरचना हटाउन दिएको समय थप गरिएको छ । यसअघि कोहलपुर नगर विकास समितिले मंगलबार साँझसम्म अतिक्रमित संरचना हटाउन समय दिएको थियो ।

अतिक्रमित संरचना हटाउने बिषयमा मंगलबार बिहान बसेको बैठकले दुई महत्वपूर्ण निर्णय समेत गरेको छ । भदौ ४ गतेको सर्वदलीय, सर्वपक्षीय बैठकबाट नगरप्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठन भएको समितिको बैठकले दुई निर्णय गरेको हो ।

बैठकले कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) को ३६ बिघा क्षेत्रमा अनाधिकृत रूपमा बसोबास गर्ने व्यक्तिहरुको विवरण संकलनको लागि फारम तयार गरी सम्बन्धित व्यक्तिलाई ५ दिनभित्र कोहलपुर नगर विकास समितिको कार्यालयमा सम्पर्क गरी पारिवारिक लगत विवरण फारम भरी पेश गर्न सूचना गर्ने र संकलन हुन आएका विवरणको छानबिन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नगर विकास समितिको जग्गामा अनाधिकृत रुपमा बसोबास गर्ने राष्ट्रसेवक कर्मचारी र राज्यबाट सेवा सुविधा पाइरहेका व्यक्तिहरुलाई जग्गा खाली गर्ने सम्बन्धि जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना बमोजिम खाली भएका घर टहराहरु नहटाएमा सूचना जारी भएको छैटौं दिनदेखि घर टहराहरु भत्काई हटाउने निर्णय भएको छ ।

मंगलबारको बैठकमा समितिमा रहेका बिभिन्न राजनीतिक दलका प्रतिनिधि बाहेक बस्तीका अगुवा, भूमी आयोगका प्रतिनिधि लगायतको समेत उपस्थिती रहेको थियो । बुधबारदेखि पाँच दिनको समय दिएर त्यहाँ बसोबास गरिरहेकाहरुलाई पारिवारिक लगत विवरण फारम भरी पेश गर्न सूचना जारी गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए ।

सो क्षेत्रका बसेका केही राष्ट्रसेवक कर्मचारीहरु भने त्यहाँबाट गइसकेको कोहलपुर नगरपालिकाले जनाएको छ । थप गरिएको पाँच दिनको समयमा समेत अतिक्रमित संरचना छोड्न सकिने नगर प्रमुख आचार्यले बताए । ‘अतिक्रमित जग्गा छोड्न चाहानुहुनेले थप गरिएको समयमा समेत सक्नुहुन्छ’ उनले भने, ‘नभए पछि अतिक्रमित संरचना डोजर लगाएर हटाइनेछ ।’

क्रिकेट मैदान क्षेत्रमा घर टहरा बनाएर बसिरहेकाहरु नक्कली की सक्कली सुकुम्बासीहरु हुन भनेर गतवर्ष नै छुट्याउने प्रयास गरिएको थियो । नगर विकासको जग्गामा बसेका वास्तविक सुकुम्बासी छन् या छैनन् भन्ने जानकारी लिनका लागि नगर विकास समितिले २०७९ भदौ २७ गते पारिवारिक विवरण पेश गर्नको लागि सात दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यतीबेला सो क्षेत्रमा बसोबास गर्नेहरुले कोहलपुर नगरपालिकाको सूचनालाई अटेरी गर्दै पारिवारीक विवरण नै बुझाएनन् । पेश गरेको पारिवारिक विवरण हेरेर सुकुम्बासी देखिए अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी नगरपालिकाले गरेको थियो ।

तत्कालिन नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा वि.स. २०७५ साल पुस २० गते नगर विकास समितिको सम्पूर्ण क्षेत्रभित्र भएका अतिक्रमण सम्बन्धीत निकाय (स्थानीय प्रशासन) को सहयोग लिई क्रमशः हटाई खाली गर्दै जाने निर्णय भएको थियो ।

सो निर्णय भएको समयमा क्रिकेट मैदान क्षेत्र (शान्तिनगर) मा नगर विकासको जग्गामा करिब ६ सय १८ घरपरिवारहरु बसेको तथ्थांक रहेको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार