बाँके ।
कोहलपुर नगरपालिकाले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान क्षेत्र आसपासमा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न मध्यमार्गी उपाय अपनाउने भएको छ । वास्तविक भूमीहिन र सुकुम्बासीका हकमा हाल केही नगर्ने तर यी बाहेकका हकमा अतिक्रमण हटाउने नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
सुकुम्बासीका हकमा अन्त व्यवस्थापन गरेर मैदान आसपासको जग्गाबाट हटाउने तयारी कोहलपुर नगरपालिकाले गरेको छ ।
‘सुकुम्बासी वा भूमीहिन हुन वा होइनन् भन्ने पत्ता लगाउन छानबिन गरिने छ’ नगर प्रमुख आचार्यले प्रस्ट पार्दै भने, ‘वास्तविक सुकुम्बासीका हकमा नगरपालिका स्वंय्ले वा अन्य भूमीसँग सम्बन्धित निकायसँग समन्वय गरेर व्यवस्थापन गर्नेछौं ।’
सुकुम्बासी बाहेक अन्यका हकमा भने समयसीमा संरचनामा नहटाएमा डोजर लगाउने नगरपालिकाले तयारी गरेको छ । हाल नगरपालिकामा ४७ वटा भूमीहिन र सुकुम्बासी भएको दावीसहित निवेदन परेको छ ।
उनीहरुको हकमा सुकुम्बासी आयोग जस्ता निकायसँगको समन्वयमा छानबिन हुने नगर प्रमुख आचार्यले जानकारी दिए । ‘निवेदन आएका हकमा तत्कालै अतिक्रमित संरचना हटाइने छैन’ उनले मिसन टुडेसँग भने, ‘अन्य हकमा भने तत्काल अतिक्रमण हटाइनेछ । छानबिनमा उनीहरु पनि सुकुम्बासी र भूमीहिन नभएको खुले त्यहाँ पनी भत्काइनेछ ।’
कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान आसपासको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउन दिएको सात दिनको समय आज सकिदैछ । क्रिकेट मैदान आसपासको जग्गामा बनेका संरचना ७ (सात) दिनभित्र हटाउन भन्दै गत भदौ ६ गते नगर विकासले सार्वजनिक सूचना जारी गरेको थियो ।
अतिक्रमित संरचना खाली गर्न दिएको समय सकिदै लाग्दा बहुचर्चित क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जग्गा खाली हुन्छ की हुँदैन भनेर सबैले चासोका रूपमा हेरिरहेका छन् । यसअघि समेत धेरै पटक अतिक्रमित संरचना हटाउने भनेर सूचना जारी भएपनि उच्च राजनीतिक तहबाटै नहटाउनका लागि पहल गरेपछि रोकिने गरिएको थियो ।
कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृत भूमी अतिक्रमित बनाइएका संरचना हटाउने सम्बन्धमा भदौ ४ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा नगर विकासको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको थियो ।
उक्त बैठकले नगर प्रमुख आचार्यको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक दलका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको थियो ।
समितिले काम गर्दागर्दा कतिपय पक्षबाट सुकुम्बासीलाई व्यवस्थापन गरेर अतिक्रमण हटाउनुपर्ने आवाज उठेको थियो ।
आफुहरु सुकुम्बासी र भूमीहिनको कहिले पनि विरोधि नभएको भन्दै नगर प्रमुख आचार्यले उनीहरुको व्यवस्थापनकै पक्षमै रहेको बताए । तर उनले सरकारी जग्गा अतिक्रमण हटाउनुपर्नेमा दृढ रहेको उल्लेख गरे ।
क्रिकेट मैदान आसपासको जग्गा आन्तरिक रूपमा किनबेच समेत भइरहेको बताइन्छ । क्रिकेट मैदान क्षेत्रको नगर विकासको जग्गामा राष्ट्रसेवक कर्मचारीहरु समेत अतिक्रमित गरेर बसेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले चासो देखाएको छ ।
राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना खाली गर्न प्रशासनले आग्रह गरिसकेको छ । वहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवार समेत बसेको सुन्न आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न बाँके प्रशासनले केही दिनअघि सूचना नै जारी गरेर आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा हस्ताक्षरित सूचनामा अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानून अनुसार कारबाहीको चेतावनी दिइएको छ ।
प्रशासनको सूचनाले सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्पन्न परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेको कुरालाई थप पुष्टि गरेको छ ।
क्रिकेट मैदान क्षेत्रमा घर टहरा बनाएर बसिरहेकाहरु नक्कली की सक्कली सुकुम्बासीहरु हुन भनेर गतवर्ष नै छुट्याउने प्रयास गरिएको थियो । नगर विकासको जग्गामा बसेका वास्तविक सुकुम्बासी छन् या छैनन् भन्ने जानकारी लिनका लागि नगर विकास समितिले २०७९ भदौ २७ गते पारिवारिक विवरण पेश गर्नको लागि सात दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यतीबेला सो क्षेत्रमा बसोबास गर्नेहरुले कोहलपुर नगरपालिकाको सूचनालाई अटेरी गर्दै पारिवारीक विवरण नै बुझाएनन् । पेश गरेको पारिवारिक विवरण हेरेर सुकुम्बासी देखिए अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी नगरपालिकाले गरेको थियो ।
तत्कालिन नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा वि.स. २०७५ साल पुस २० गते नगर विकास समितिको सम्पूर्ण क्षेत्रभित्र भएका अतिक्रमण सम्बन्धीत निकाय (स्थानीय प्रशासन) को सहयोग लिई क्रमशः हटाई खाली गर्दै जाने निर्णय भएको थियो ।
सो निर्णय भएको समयमा क्रिकेट मैदान क्षेत्र (शान्तिनगर) मा नगर विकासको जग्गामा करिब ६ सय १८ घरपरिवारहरु बसेको तथ्थांक रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्