बाँकेमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले खुलायो भर्ना



बाँकेमा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले भर्ना खुलाएको छ । विश्वविद्यालय स्थापनाको एकवर्ष पछि यही भदौ ६ गते दुई वटा कार्यक्रमका लागि भर्ना खोलिएको हो । विश्वविद्यालयले ‘बिटेक इन आईटी’ र ‘बिटेक इन सिएस एण्ड एआई’ कार्यक्रममा भर्ना खोलेको छ ।

नेपालगन्ज ।

बाँकेमा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले भर्ना खुलाएको छ । विश्वविद्यालय स्थापनाको एकवर्ष पछि यही भदौ ६ गते दुई वटा कार्यक्रमका लागि भर्ना खोलिएको हो । विश्वविद्यालयले ‘बिटेक इन आईटी’ र ‘बिटेक इन सिएस एण्ड एआई’ कार्यक्रममा भर्ना खोलेको छ । आगामी असोज ६ गते फारम भर्ने अन्तिम समय कायम गरिएको छ भने दुईवटा कार्यक्रममा ४८/४८ विद्यार्थीको कोटा तोकिएको छ ।

भर्ना खुल्ला भएसँगै विश्वविद्यालयले पढाउने नपढाउने भन्ने बिषयको आशंका भने अन्त्य भएको छ । विश्वविद्यालय स्थापनाको एकवर्षमा विश्वविद्यालयको पूर्वाधार निर्माणको काम हुन सकेको थिएन । पूर्वाधार पनि कुन ठाउँमा निर्माण गर्ने भन्ने एकिन छैन ।तर खजुरामा प्रस्तावित जग्गामा भने केही प्रगति भएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले चालू शैक्षिक सत्रबाट सञ्चालन घोषणा यसअघि नै गरिसकेका थिए ।

उपकुलपति ढकालका अनुसार चालू शैक्षिक सत्रबाट ‘बिटेक इन आईटी’, ‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्ग’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ । तर हाल दुईवटा कार्यक्रममा भर्ना खोलिएको छ । अर्को वर्षको शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन हुने कार्यक्रम रहेको उपकुलपति ढकाल बताउँछन् ।

उनका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ्ग र सूचना प्रविधि र निकट भविष्यमा दाङ्ग र रुपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुनेछन् । तर यि कार्यक्रम सञ्चालनका लागि पूर्वाधार खोज्न सकस परेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका–८ मा प्रस्ताव गरिएको छ । त्यहाँको एक सय विगाह जग्गा विश्वविद्यालयको नाम गर्ने वा लिजमा दिने भन्ने रायसहित गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारसँग अनुमति मागेको थियो । त्यसमा मन्त्रालयले सकारात्मक सहयोग गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान) बताउँछन् । तुफानले जग्गाका बिषयमा कानून बमोजिम सरकारसँग माग गरिएको हुँदा त्यसको निकास निस्किएको बताए ।

विश्वविद्यालय स्थापनाकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपतिले वर्षदिन पुरा हुँदा पनि पूर्वाधार निर्माणको काममा प्रगति नहुँनु दुःखद कुरा भएको बताउँदै भन्छन्,–‘तत्काल पूर्वाधार निर्माण हुन नसक्ने अवस्था छ भने जनक शिक्षा सामाग्री केन्द्र वा अन्य कुनै बिकल्प खोजेर खजुरामै विश्वविद्यालयको कार्यालय राख्नुपर्छ र पढाई पनि त्यही सुरु गर्नुपर्छ ।’

कक्षपतिले जनक शिक्षा सामाग्री केन्द्रको भवन सबैभन्दा उत्तम बिकल्प भएको बताउँदै त्यसका लागि केन्द्रीय सरकारलाई जसरी पनि मनाउनुपर्ने बताए । ‘त्यो दिन मानिरहेका छैनन् भन्ने सुनेको छु तर विश्वविद्यालयलाई पूर्वाधार सम्पन्न बनाउन लाग्ने हो भने जसरी पनि जनकशिक्षाको भवनलाई उपयोग गर्नुपर्छ’ कक्षपतिले भने ।

लुम्बिनी प्रदेश विश्वविद्यालयको काम तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पालामा अघि बढेको थियो भने कुलप्रसाद केसीको पालामा राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको थियो । खजुरामा एक सय विगाह जग्गा उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकेमा विश्वविद्यालय स्थापना भएको कक्षपति बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ९ गते शनिबार