बाँके ।
नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती ढकाल नेतृत्वको कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको हो । साथै कार्यसमितिलाई निर्वाचन कार्यालयले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
निर्वाचन समितिका निर्वाचन आयुक्त जनक बहादुर शाहीले प्रमाण पत्र वितरण तथा पदभार ग्रहण कार्यक्रमको अवसरमा निर्वाचित पदाधिकारी एवं समितिलाई प्रमाणपत्र वितरण गरेका थिए ।
प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसीले युनियन बाँकेका वर्तमान पदाधिकारीले संस्थाको सञ्चालनका लागि दुःख गरेको देखिएको बताए ।
उनले पत्रकार महासंघको नेतृत्वका लागि पनि वर्तमान समितिले विशेष भूमिका निर्वाह गरेको भन्दै अबको नेतृत्वले बाँकी रहेको कामलाई पुर्णता दिनुपर्ने दाबी गरे ।
निर्वाचनमा जितको लागि अपनाउनुपर्ने कार्य निर्वाचनकै लागि मात्र भएको भन्दै ती कुरालाई थाँती राखेर अब युनियनलाई कसरी प्रभावकारी र पारदर्शी बनाउने भन्ने सबैको उत्तिकै दायित्व रहेको बताए ।
यस्तै पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष ओलीले विभिन्न चुनौतीका बाबजुद संस्थालाई व्यवस्थित बनाउने कार्य अघि बढाएको र केही कुराहरुलाई पूरा गर्न नसकिएको बताए ।
कुनैपनि कार्य गर्दा चुनौती रहने तर अठोटका साथ अघि बढ्दा समाधान पनि हुने आफुलाई अनुभव भएको अध्यक्ष ओलीले दाबी गरे । निर्वाचनका बेला निर्वाचन हतकण्डालाई अब बिर्सेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले संस्थाको दिगोपनाका लागि आफुहरुको नेतृत्वले जग्गा व्यवस्थापन गर्न सकेकोमा खुशी व्यक्त गरे ।
यस्तै पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ढकालले युनियनलाई सबैको बनाउन कुनै कसर बाँकी नराख्ने र कोही कसैलाई युनियनबाट एक्लिएको महसुस हुन नदिने बताए । निर्वाचनमा आन्तरिक प्रतिस्पर्धा रहेको र अब ती कुरा सकिएको भन्दै संस्थालाई आर्थिक रुपमा बलियो बनाउने कार्यको युनियनले सुरूवात गर्ने पनि अध्यक्ष ढकालले बताए ।
युनियन बाँके शाखा अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष ढकाललाई र वर्तमान सचिव विजय मल्लले नवनिर्वाचित सचिव भिष्म लोधलाई संस्थाको जिम्मेवारीसँगै माइन्यूट लगायतका सम्पूर्ण कुराको बुझबझारथ गरेका थिए ।
कार्यक्रममा प्रेस युनियन प्रदेशका उपाध्यक्ष केसी, महासचिव नविन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन प्रदेश सदस्य गौरव गिरी, निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्