बाँके ।
साउदी अरबमा गत साउन १३ गते राति मृत्यु भएका कोहलपुर–१२ का २८ वर्षीय सुरेश चौधरीको शव नेपाल आइपुगेको छ । रोजगारीका लागि साउदी अरबको अफनिया गएका उनी कामबाट आएर सुतेका चौधरी सुतेकै अवस्थामा मृत फेला परेका थिए ।
साउदीबाट जहाजमा बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कोहलपुरका मृतक चौधरीको शव आइपुगेको लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले जानकारी दिइन् ।
‘साउदीबाट काठमाडौं जहाजमा ल्याइएको शव कोहलपुरबाट जानुभएका आफन्तहरुले बुझिसक्नुभएको छ’ शव नेपाल झिकाउन पहल गरेकी सांसद नमुनाले भनिन्, ‘बिहीबार दिउँसो नै आफन्तहरु शव लिएर गाडीमा कोहलपुरको लागि हिडिसक्नुभएको छ ।’
साउदीबाट नेपाल शव आउन लागेको जानकारी आएपछि चौधरीका आफन्तहरु कोहलपुरस्थित घरबाट शव बुझ्न काठमाडौं गएका
थिए । नियमित प्रक्रियाबाट शव ल्याउन केही महिना लाग्ने भएपछि सांसद नमुनाले प्रधानमन्त्री कार्यालयमार्फत पहल थालेकी थिइन् ।
‘आत्महत्या गरेको देखिएकोले साउदीमा नै अनुसन्धान गर्नुपर्ने भएकोले शव ल्याउन केही ढिलाई हुनसक्ने देखियो । त्यसैले नियमित प्रक्रियाबाहेक चाँडो शव ल्याउन प्रधानमन्त्री कार्यालयमार्फत पहल थालेका थियौं’ सांसद नमुनाले भनिन्, ‘साउदी प्रहरीमा दुतावासमार्फत कुराकानी गर्न लगाएर अली चाँडै शव नेपाल आयो ।’
मृतक चौधरीको शव चाँडो घर ल्याउनको लागि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत सावित्री अधिकारीले पहल गरेको उनले बताइन् । परिवारका सदस्यले दिएको जानकारीअनुसार मृतक चौधरीको शव आज कोहलपुर–१२ स्थित घरमा आइपुग्नेछ ।
आत्महत्या गरेको साउदीको प्रहरीले आशंका गरेपछि शव ल्याउन केही ढिलाई भएको थियो । प्राकृतिक मृत्यु भन्दा हत्या, आत्महत्या लगायतका केशमा शव आउन धेरै समय लाग्नसक्ने कोहलपुर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रका संयोजक जंगबहादुर बिसीले जानकारी दिए ।
सम्बन्धित देशका प्रहरीले अनुसन्धान गर्नुपर्ने भएकोले शव नेपाल ल्याउन धेरै समय लाग्ने गरेको छ । यस्ता केशहरुमा राजतीतिक तहबाट नै पहल गरेर छिटो प्रक्रिया पु¥याएर नेपालमा शव ल्याउने गरिएको छ । मृतक चौधरीको शव साउदीबाट नै निःशूल्करूपमा नै घरसम्म आइपुग्ने संयोजक बिसीले मिसन टुडेलाई जानकारी दिए ।
‘साउदीबाट नै घरसम्म शव ल्याउदा परिवारका सदस्यहरुले एक रूपैयाँ पनि खर्च गर्नुपर्ने छैन’ उनले भने, ‘सबै वैदेशिक रोजगार बोर्डले नै दिन्छ । मृतकका परिवारले बीमाबाफतको रकम समेत पाउनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्