संगठित गिरोहले भित्र्याउँछ बाँकेमा दैनिक आठ हजार लिटर भारतीय दुध



अन्य सामान जस्तै ‘क्यारिङ्ग’बाट दैनिक बाँकेमा भारतबाट आठ हजार लिटर दुध भित्रिन्छन् । यसरी भित्रिएको दुध दुग्ध विक्रेताले नै नेपाली दुधमा मिसाएर बेच्दै आएका छन् । मिठाई पसलदेखि घर–घरसम्म तस्करीको दुध पुग्दा बाँके र बर्दियाका कृषकले दुःख गरेर उत्पादन गरेको दुध खेरजाने अवस्था छ ।

कमल डाँगी । नेपालगन्ज ।

बाँके र बर्दियाका कृषकले दुःख गरेर उत्पादन गरेको दुध बिक्री नभएर त्यसैखेर गइरहेका बेला संगठितरूपमा भारतीय दुध बाँकेमा भित्र्याइने गरेको पाइएको छ । चोरीपैठारी नियन्त्रणका लागि परिचालित सुरक्षा निकाय समेतले सहजै तस्करीको दुध दैनिक भित्रिन दिएपछि यहाँका कृषकहरु आक्रोसित बनेका छन् ।

तस्करीको दुधले जिल्लामा उत्पादन भएको दुध नै बिक्री नहुने अवस्था सिर्जना भएपछि जिल्ला दुग्ध व्यवसायी संघ बाँकेले स्थलगतरूपमा अनुगमन र अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार भारतबाट आयात हुने दुग्ध तथा दुग्धजन्य पदार्थमा विगतमा भन्सार प्रमुखको निर्देशनमा निगरानी भए पनि अहिले खुल्ला छाडिएको पाइएको छ ।

उक्त दुग्धको नेपाल सरकार, स्थानीय सरकार, पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयसँग सूचना माग गर्दा कुनै अधिकारिक तथ्याङ्क नभएको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दिपकराज भण्डारीले जानकारी दिए ।

‘भारतबाट सरदर दैनिक ६ हजारदेखि ८ हजार लिटर दुध भित्रिने गरेको जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको अध्ययनले देखाएको
छ ।’ भण्डारीले भने,–‘उक्त अध्ययन अनुसार बाँके जिल्लामा हाल २४ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको छ भने छिमेकी जिल्ला बर्दियाबाट ७ हजार लिटर दुध बाँकेमा आएको छ ।’

यसरी जम्मा ३७ हजार लिटर दुध दैनिक बाँकेमा आउने गरेको देखिन्छ । बाँकेमा जम्मा दूधको खपत २२ हजार लिटर रहेको अध्ययनले देखिन्छ भने ७ हजार लिटर दूध दैनिक बाँकेबाट अन्य जिल्लामा पठाएको छ ।

‘यसरी दैनिक ८ हजार हजार लिटर दुध बाँकेमा बढी भएको देखिन्छ । यो बढी भएको दुधलाई व्यवस्थापन गर्न समस्या परेको छ जसले गर्दा बाँकेका किसानहरुले उत्पादन गरेको दुध बिक्री हुन नसकेर मिल्क होलिडे भएको छ ।’

अन्य सामान जस्तै क्यारिङ्ग गरेर सीमावर्ती गाउँमा दुध भित्रिन्छ । त्यसरी भित्रिएको दुध नेपाली दुग्ध बिक्रेताले नै नेपाली दुधसँग मिसाउँछन् अनि त्यो दुध बजारसम्म आइपुग्छ । कतिपय क्यारिङ्ग गर्नेले मिठाईपसलदेखि घरसम्म अवैध दुध ल्याइदिने गरेको पाइन्छ ।

भारतीय अवैध दुधबाट वाक्कदिक्क बनेका व्यवसायीहरुले नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बा“केलाई ज्ञापनपत्र बुझाउ“दै स्वास्थ्यको लागी गुणस्तरिय दूध तथा दुग्धजन्य पदार्थ खानु पर्ने भए पनि सस्तोको नाममा बजारमा अवैध रूपमा भित्रिने भारतीय कम गुणस्तरको दुधको बिक्रि बितरण भैरहेको उल्लेख छ ।

मापदण्ड पूरा गरि गुणस्तरिय र वैधानिक रूपमा दुग्ध पदार्थ बिक्रि वितरण गर्ने व्यवसायीलाई मर्का परेको देखिन्छ जसले गर्दा नेपाली कृषकहरुले उत्पादन बजार नपाएर मिल्क होलिडे भइरहेकोप्रति ध्यानार्कषण गराइएको छ ।

खुल्ला सिमाना भएका कारण भारत तर्फबाट अवैध रूपमा सहजै आयात हुने खुल्ला दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरिता जाँच नभई आयात भई बिक्रि वितरण कार्यले गुणस्तरिय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन् भइरहेको उल्लेख छ ।

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा बिक्रि वितरण भै रहेको दुध र दुग्धजन्य पदार्थले अस्वस्थ्य प्रतिस्पर्धालाई बढावा दिन मद्धत पु¥याएको बताउँदै व्यवसायीहरुले यस्तो कार्यलाई निरुत्साहित गर्न माग गरेका छन् ।

भारतीय बजारबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल र साइकल मार्फत बिक्रि वितरण गरिएको दूध र दुग्धजन्य पदार्थको गुणस्तरीयतामा कुनै पनि निकायले ध्यान दिएको नदिइएको भन्दै यसरी भारतीय मोटरसाइकल अवैध रूपले नेपालमा आउने गरेकोले सम्बन्धित निकायसँग यसलाई रोक्न माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार