काठमाडौं ।
नागरिक उड्डयन प्राधिकरणले दुर्गम गन्तव्य उडानमा जारी गरेको नयाँ सर्कुलरलाई वायुसेवा सञ्चालक संघले मुलुकको उड्डयन क्षेत्रका लागि उपयुक्त भनेको छ । करिब एक महिनायता प्राधिकरणले जारी गरेको बर्खे मापदण्डप्रति असन्तुष्टि जनाउँदै आएको संघले पछिल्लो समय जारी गरिएको नयाँ सर्कुलर स्वागतयोग्य रहेको जनाएको हो ।
‘हामी हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौं । हवाई उडान सञ्चालन गर्दा भविष्यमा आइपर्ने विविध कठिनाइका विषयहरूमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने छौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख
छ ।
प्राधिकरणले कर्णालीसहित पहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा हवाई सेवा लिँदै आएका जनता तथा पर्यटकमा पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै नयाँ सुरक्षा निर्देशिका जारी गरेको थियो । हालको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै संघले हवाई उडान गर्दा भविष्यमा आइपर्ने कुनै प्रकारका समस्याहरूको उचित पहिचान गरी सहमति र सहकार्यबाट समाधान गर्दै जाने जनाएको छ ।
यस्तै प्राधिकरणले विकट गन्तव्यका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था (भीएमस) सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा अनिवार्य गरेको छ ।
जहाज उडान गर्नु अगाडि भिजुअल मेट्रोलिकल कन्डिसन सुरक्षित सुनिश्चिततापछि पाइलट इन कमान्ड सम्पूर्णरुपमा सन्तुष्ट हुनुपर्ने प्रावधान बनाइएको छ । यसैगरी नेपालगन्जबाट विकट गन्तव्यका विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले अनिवार्य फ्लाइट अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा सम्बन्धि सम्पूर्ण कार्य उसैले गर्नुपर्ने प्रावधान बनाइएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको संयोजकत्वमा पहाडी क्षेत्रका विमानस्थल सञ्चालन समय पुनरावलोकन गर्ने तथा इन रुट वेदरको उपलब्धतताबारे अध्ययन गरिने जनाइएको छ । प्राधिकरणले जारी गरेको निर्देशिकाले उडान अवरुद्ध भएपछि हुम्लामा भने विरोध भएको छ । उक्त जिल्ला सडक सञ्जालसँग जोडिएको छैन ।
उडान पनि नहुँदा जनजीवन प्रभावित भएको छ । प्राधिकरणलाई निर्देशन सच्याउन हुम्लाको नागरिक समाजले आग्रह गरिसकेको छ भने यही विषयलाई लिएर कर्णाली प्रदेश सभामा प्रतिपक्षी दल एमालेले बैठक अवरुद्ध पारेको छ । त्यसैले निर्देशन पुनरावलोकनका लागि प्राधिकरण दबाबमा परेको छ ।









प्रतिक्रिया दिनुहोस्