खजुरामा तलाउमा डुबेर एकको मृत्यु



बाँके ।

बाँकेको खजुरा गाउँपालिकामा तलाउमा डुबेर एक पुरूषको मृत्यु भएको छ । वडा नम्बर ७ मा खेतमा रहेको तलाउमा डुबेर स्थानीय ४५ वर्षीय शिवराम राढको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले डुबेर वेपत्ता भएका राढको शव तीन घण्टापछि फेला परेको जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान खेतमा घाँस काट्न जाँदा राढ तलाउमा डुबेर वेपत्ता भएका थिए ।

सोमबार नै उनको शवलाई भेरी अस्पताल नेपालगन्जमा पोस्टमार्टम् पश्चात आफन्तलाई जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै खजुराका विकास सुनारको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

स्थानीय जेठीनालामा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको शव सुरक्षाकर्मीहरूले तेस्रो दिनमात्र भेटाएका थिए । बर्षाको समय भएकोले पानी जम्मा भएका स्थान तथा नदी र खोला नालाहरूमा पौडी खेल्न नजान जिल्ला प्रहरी कार्यालय बाँकेले सबैलाई आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार