सहकारीका समस्या: सञ्चालक जथाभावी खर्च, ऋणीले ऋण तिर्दैनन्



नेपालगन्ज ।

बाँकेका स्थानीय तहले सहकारीको ऋण नतिर्ने र बचतकर्ताको बचत फिर्ता नगर्नेलाई पालिकाबाट दिने सेवा रोक्ने चेतावनी दिँदै सूचना जारी गरेको विषय चर्चामा छ, यतिबेला । बचत फिर्ता नगर्ने सहकारी र ऋण नतिर्ने ऋणीका कारण अर्थतन्त्रको खम्बा मानिने सहकारी क्षेत्र धरासायी बनेका बेला पालिकाले ढिलै भए पनि चासो प्रकट गरेका छन् ।

सहकारी क्षेत्र देशभरि प्रभावित भएकाबेला केही दिन अघि नेपालगन्जमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सहकारी अगुवा भेला भइ सहकारीमा उत्पन्न समस्या र समाधानका उपायको खोजी गरे ।

त्यसरी दर्जनाँै विषयमा छलफल गरेका सहकारी अगुवाले पछिल्लो समय सहकारीका सञ्चालक र कर्मचारीले सहकारी संस्थागतरुपमा चलाउन नसकेको र ऋण लिएका ऋणीहरुमा ऋण नतिरे पनि हुने सोंच हाबी भएको औँल्याएका छन् । सहकारी विभागका रजिष्टार नमराज घिमिरेका सामुन्ने सहकारी अगुवाले सहकारी शिक्षा र सदस्य केन्द्रित नभएको मात्रै होइन दक्ष सञ्चालक, लेखा समिति र संस्थाको उचित व्यवस्थापन नभएको औँल्याए ।

सहकारी क्षेत्रमा दक्ष जनशक्ति नभएको विषय उठाएका सहकारी अगुवाले सञ्चालक र कर्मचारीहरु बीचको पारिवारिक सम्बन्ध तथा संस्थागत तबरबाट सञ्चालन नभएको स्वीकारे । त्यसो गर्दा सहकारीको लगानी दुरुपयोग भइरहेको औँल्याइएको छ ।

तरलता व्यवस्थापन गर्न नसकिएको भन्दै सहकारी संघ संस्था र वित्तीय क्षेत्रको ऋण नतिरे नि हुने मनोविज्ञान बढेको बताइएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका प्रमुख कार्यकारी सञ्जय तिमिल्सेना समस्यासँगै समाधानको उपाय पनि खोजी भएको बताउ“छन् ।

उनका अनुसार देशभरिबाट सदस्य केन्द्रित भई सहकारी शिक्षालाई निरन्तरता दिनु पर्ने र सञ्चालक, लेखा समितिहरुलाई सहकारी शिक्षा, तालिम अनिवार्य व्यवस्था गर्नु पर्ने जस्ता आवाज उठेको छ ।

हाम्रालाई भन्दा राम्रालाई कर्मचारी कार्यविधिबमोजिम हुनुपर्ने, संस्थाको वित्तीय विश्लेषण गरी जारी गरिएको निर्देशनबमोजिम राख्ने, कर्जा सूचना केन्द्र स्थापना मात्रै नभई ऋण नतिर्ने सदस्यहरुलाई कानुनबमोजिम कारबाही गर्ने व्यवस्था पनि हुनुपर्ने आवाज उठेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८० ले देशभर सुझाव संकलन गरेको छ । यि सुझाव कार्यान्वयन हुने आशा राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २५ गते बिहीबार