24 June 2024  |   सोमवार, असार ११, २०८१

गाईलाई बचाउन खोज्दा दुर्घटनाः एकै घरका चारसहित ६ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २२, २०८०  

नेपालगन्ज ।

नेपालगन्जको त्रिभवुन चोक, प्रायः उत्साह र उमंगमय हुन्छ । नेपालगन्जका विभिन्न रैथाने परिकार पाइने हुँदा पनि अधिकांशको रोजाइ त्रिभुवन चोक नै पर्छ । धेरैजनाको रोजाइको केन्द्र हुँदा यहाँ उत्साहपूर्ण वातावरण हुन्छ । तर, शनिबार साँझ भने एकाएक त्रिभुवन चोक शोकमग्न भयो । कारण, ‘भारतको श्रावस्ती जिल्लामा भयानक दुर्घटना ।’ उक्त दुर्घटनाबाट यहाँ बस्ने एकै घरका चारजनासहित ६ जनाको मृत्यु भएपछि त्रिभुवन चोक शोकमा डुबेको छ । मृतकका परिवार विक्षिप्त भएका छन् ।

त्रिभुवन चोकस्थित एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताको परिवार र नेपालगन्ज सदरलाइनस्थित दिनेश गुप्ताको परिवार गरी दुई परिवारका ६ जनाले उक्त दुर्घटनामा ज्यान गुमाए । उक्त दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्जको त्रिभुवनचोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए ।

हृदयबिदारक घटनाले परिवारका सदस्य त विक्षिप्त छँदैछन् सधै गुल्जार भइरहने त्रिभुवनचोकमा सन्नाटा छाएको छ । मृतकका बुवा आमा सम्हाल्न सकिरहेका छैनन् । उनीहरु घरिघरि बेहोस भइरहन्छन् । दुर्घटनाको खबर पाउनासाथ त्रिभुवनचोकका जोकोहीको अनुहार मलिन देखिन्थ्यो । मृतकका आफन्त रोहित गुप्ता भन्छन्, ‘हामीले केही सोच्न सकिरहेका छैनौं ।

यो कालो दिन सपना भइदिए हुन्थ्यो झैं लागेको छ ।’ परिवारलाई सहानुभूति प्रकट गर्न ठूलो संख्यामा सर्वसाधारण र उद्योगी व्यवसायी घर पुगेका छन् । स्थानीय आदित्य गुप्ताले हृदयबिदारक घटना नेपालगन्जका लागि कालो दिन भएको बताए । सोही ठाउँका कुशल गुप्ता भन्छन्, ‘ईश्वरले यस्तो दिन कसैलाई नदेखाउन् ।’ उक्त घटनाप्रति कयौंले समवेदन प्रकट गरेका छन् ।

भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईलाई बचाउन खोज्दा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, साउन २२, २०८०     5:02:28 PM  |