10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

कोहलपुरमा आँखा पाक्ने प्रकोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १८, २०८०  

यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा. गुरुङको सुझाव छ ।

शिवानी विक । कोहलपुर ।

कोहलपुरमा आँखा पाक्ने भाइरल डिजिट (एकबाट अर्काेमा सर्ने) प्रकोप फैलिएको छ । करिब दुई हप्तादेखि यहाँका विद्यालय र बालबालिकामा यो प्रकोप अझ बढी देखिएको छ । अन्य व्यक्ति पनि यसबाट प्रभावित छन् । पहिला आँखा रातो हुँदै पानी बग्ने, चिलाउने, पोल्ने आँखा पाक्ने समस्या देखिन थालेको छ ।

विद्यालयमा बालबालिकाहरु अझ धेरै हुने गरेको र उनीहरु सँगै हुने हुँदा बालबालिका अझ बढी यसबा प्रभावित भएका कोहलपुर नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेमप्रसाद पाण्डेले जनाए ।

‘विद्यालयमा बालबालिका सँगै खाने र खेल्ने हुन्छन्,’ उनले भने, ‘बालबालिका सँगै हुँदा आँखा पाक्ने समस्या एकबाट अर्काेमा सहजै सर्छ । जसबाट बालबालिका अझ बढी प्रभावित भएका छन् ।’ उनका अनुसार वडा नम्बर २ का फूलबारी र सेञ्चुरीमा अझ बढी देखिएको छ । योसँगै वडा नम्बर ६ मा पनि बढी छ । कोहलपुरका प्रायः सबै स्थानमा यो समस्या देखिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले जनाए ।

‘नगर अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउनुहुन्छ,’ उनी भन्छन्, ‘जसमध्ये दैनिक १५/२० जना बिरामी आँखा पाक्ने समस्याका
हुन्छन् ।’ यो संख्या धेरै भएको उनी बताउँछन् । उनका अनुसार यो भाइरल डिजिट पाँचदेखि सात दिनसम्ममा आफैँ निको हुन्छ । ‘तीन दिनदेखि सञ्चो हुन सुरु हुन्छ,’ उनी भन्छन्, ‘पाँचदेखि सात दिनमा पूर्ण निको हुन्छ ।’ यो समस्या निकोभन्दा पनि धेरैलाई सर्ने हुँदा यसबाट सजग हुनुपर्ने उनले बताए । ‘यो समस्या देखिएमा निको हुन्छ,’ उनले भने, ‘तर, यहाँ निकोभन्दा पनि एकबाट अरुमा सर्ने समस्या धेरै छ ।’ यसबाट सबै सजग हुनुपर्ने उनको भनाइ छ ।

यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आँखा पाक्ने समस्याका बिरामी दैनिक ३० देखि ४० जना आउने गरेको शिक्षण अस्पताल कोहलपुरमा आखाँ रोग विशेषज्ञ प्रोफेसर डा. नन्दाकुमारी गुरुङले जनाइन् । केही दिन यता आँखा पाक्ने संक्रमण निकै बढेको उनी बताउँछिन् । यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने उनको भनाइ छ । प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उनले जनाइन् ।

यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा. गुरुङको सुझाव छ । यसको न्यूनीकरणका लागि कोहलपुर नगरपालिकाले प्रकोप देखिएका स्थानमा सचेतना, उपचार प्रक्रिया सुरु गरेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन १८, २०८०     10:52:09 AM  |