4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

नेपालगन्ज रंगशालामा करोडौंका पूर्वाधार प्रयोगविहीन, कर्मचारी कामविहीन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १५, २०८०  

तिलक गाउँले । बाँके (नेपालगन्ज) ।

२०७५ सालमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा यहाँ करिब ४८ करोड लगानीका सुविधा सम्पन्न खेल संरचना तयार भए । राष्ट्रियस्तरको खेलकुद कुम्भ आयोजना गर्न सकेको नेपालगन्ज रंगशालामा मात्रै प्याराफिट, स्वीमिङ पुल, पुनर्निर्माण गरिएको कवर्ड हल उपलब्ध छन् । त्यस्तै खजुरा गाउँपालिकाको सीतापुरमा भलिबल स्टेडियम तयार गरिएको छ ।

तर, बिडम्बना सरकारको बेवास्ताका कारण निर्माण भएका खेल पूर्वाधारमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि खासै ठूला खेलकुद गतिविधि भइरहेका छैनन् । करोडौंका यि संरचना तयार हुँदै गर्दा खेलाडी र खेलप्रेमी माझ खेलकुद गतिविधि बढ्ने उत्साह जागेको थियो । तर, खेलाडी र खेलप्रेमीको त्यो उत्साह लामो समय टिक्न पाएन । कारण, ‘करोडौंको रंगशालामा खेल गतिविधि नहुनु र उक्त रंगशाला बेवारिसे अवस्थामा हुन् ।’

पुग्ने भौतिक पूर्वाधार बनाइदिएको सरकारले ती पूर्वाधारमा खेल्न आवश्यक खेल सामग्री दिएन जसका, कारण करोडौंका संरचनामा खेल गतिविधि हुँदैनन् भने खेलाडी खेल्न पाउँदैनन् । प्रशिक्षकहरु कामविहीन अवस्थामा छन् । मिसन टुडेकर्मी बुधबार नेपालगन्ज रंगशाला पुग्दा यहाँका कर्मचारी प्याराफिटमुनि हावा खाएर गफिँदै बसेका थिए ।

उनीहरुको अनुहारमा सरकारले कुनै प्रकारको बजेट उपलब्ध नगराउँदा खेल गतिविधि नभइरहेको र दिनभर कामविहीन भएर बस्नुपर्दाको न्यास्रोपना झल्किन्थ्यो । एकजना कर्मचारीले भने, ‘कोही आएर एउटा फुटबल दिनूस् न भनेर माग्यो भने त्यो दिन सक्ने अवस्थासमेत हाम्रो छैन । प्रशिक्षण र प्रतियोगिताको त कुरै छाड्नूहोस् ।’ उनले त सरकारले यसरी पूर्वाधारलाई प्रयोगविहीन र कर्मचारीलाई कामविहीन बनाएर राख्नुभन्दा बिदा गरिदिए हुने भन्दै निरासा प्रकट गरे ।

तयार भएका पूर्वाधार संघीय सरकार मातहतको तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिअन्तर्गत छ । संघीय सरकारले खेलकुद गतिविधि गर्न कुनै तत्परता देखाए पनि यता प्रदेशअन्तर्गत पर्ने जिल्ला खेलकुद विकास समितिमा समेत कुनै प्रकारको बजेट नभएको बताउँछन् कार्यालय प्रमुख सन्तोष श्रेष्ठ । बजेट आए खेलकुद गतिविधि गर्न सकिने भन्दै उनले भने, ‘बजेट नआउँदा खेलकुद गतिविधि गर्न सकिएको
छैन । काम पनि देखिएको छैन ।’

तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार नेपालगन्ज रंगशालाको प्याराफिट र मैदान, पौडी पोखरी, कभर्ड हल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् । तर, यसमा खेलकुद गतिविधि हुन पाएका छैनन् । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि औपचारिकताका लागि मात्रै खेलाडीले प्रशिक्षण लिएको स्वयम् प्रशिक्षकहरु बताउ“छन् । ‘बिजुली, पानीको शुल्क भुक्तानी गर्नसमेत नसकेर धौधौ परेको छ,’ उनी भन्छन्, ‘अहिलेसम्म हल भाडा र स्वीमिङ पुलबाट आउने पैसाले काम चलाइरहेका छौं । यसरी कतिञ्जेल चल्छ थाहा छैन ।’

खेलकुद गतिविधि नै नभएपछि खेलाडी निरास छन् । बा“केलाई खेलाडी उत्पादनको जिल्ला पनि भनिन्छ । ‘तर अहिले अवस्था बेग्लै भयो । खै किन हो सरकारका लागि खेल गतिविधि प्राथमिकतामा परेन,’ नेपालगन्ज रंगशालामा भेटिएका एकजना खेल प्रशिक्षकले नैराश्यता प्रकट गरे ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा सम्पन्न गर्ने समयका क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले पूर्वाधार भएर पनि खेल गतिविधिलाई प्रोत्साहन गर्न नसक्नु बिडम्वनाको विषय भएको बताउ“छन् । उनी भन्छन्, ‘यतिका पूर्वाधार अब पाउन मुस्किलै पर्छ । हामीले संरक्षण गर्दै खेल गतिविधि बढ्ने आशा र अपेक्षा गरेका थियौं तर त्यसो हुन सकेन ।’

प्रकाशित मितिः सोमवार, साउन १५, २०८०     8:08:39 AM  |