बाँके ।
कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा २ हजार ८ सय ८६ मत खसेको छ । शुक्रबार कोहलपुरस्थित भेरी शीत भण्डार सहकारी संस्थाको परिसरमा भएको निर्वाचनमा २ हजार ८ सय ८६ मत खसेको हो ।
निर्वाचन अधिकृत टिकाराम ढकालले दिएको जानकारी अनुसार निर्धारित समयमा २ हजार ८ सय ८६ जना मतदाताले मतदान गरेका थिए ।
‘५२ सय ७७ जना मतदातामध्ये निर्धारित समयमा २ हजार ८ सय ८६ मत खसेको छ । पछि गन्दाखेरी एक दुई मत तलमाथि हुनसक्छ त्यो पछि थाहा होला ।’ उनले मिसन टुडेसँग भने, ‘मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।’
बिहान सात बजेदेखि अपरान्ह्र पाँच बजेसम्म मत हाल्ने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयले मिलाएको थियो । मतदानस्थलको सुरक्षाका लागि बिहानैदेखि नेपाल प्रहरी र कोहलपुर नगर प्रहरीलाई परिचालन गरिएको थियो ।
उपयुक्त सुरक्षा व्यवस्था मिलाएर निर्वाचन गराइएकोले सामान्य केही विवादबाहेक अन्य कुनै घटनाहरू भएनन् ।
खानेपानी उपभोक्ता संस्थाको विभिन्न ११ पदको लागि ३१ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् । उनीहरू तीन समूहबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार एक अध्यक्षका लागि तीनजना, एक उपाध्यक्षका लागि तीनजना, एक सचिवका लागि तीनजना, एक कोषाध्यक्षका लागि तीनजना, एक सहसचिवका लागि दुईजना र एक सहकोषाध्यक्षका लागि तीनजना उम्मेदवार रहेका छन् ।
त्यसैगरी तीन खुला सदस्यका लागि नौजना र दुई महिला सदस्यका लागि पाँचजना उम्मेदवारबीच निर्वाचन भएको हो । निर्वाचनको लागि घोषितरूपमै नेपाली कांग्रेसले लोकतान्त्रिक प्यानल र नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस र राप्रपाले साझा समावेशी प्यानल बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उतारेका थिए ।
त्यसैगरी स्वतन्त्र प्यानलको नाम दिएर राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, संस्थाका निर्वतमान अध्यक्ष नरबहादुर मल्लको समूह र बेटर बाँकेले अघोषितरूपमा सहसचिवबाहेकका उम्मेदवारहरू चुनावमा उठाएका थिए ।