आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै नरबहादुरलाई कारबाही




शिवानी विक । कोहलपुर
नेपाली कांग्रेसले क्षेत्रीय प्रतिनिधि नरबहादुर मल्ललाई कारबाही गरेको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएपछि नेपाली कांग्रेसले उनलाई कारबाही गरेको हो ।

क्षेत्रीय प्रतिनिधि तथा पूर्व क्षेत्रीय सभापतिसमेत रहेका मल्ललाई पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरी अन्य पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसारमा लागेको आरोप लागेको छ । उनलाई पार्टीबाट पाँच वर्षसम्मका लागि निष्काशन गरिएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांंग्रेस कोहलपुर नगर कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायाणप्रसाद गौडेलले पार्टीका विरुद्धमा विभिन्न गतिविधि गर्नेलाई पार्टीले कारबाही गर्ने बताउँदै पार्टीको सदस्य भइ पार्टीकै विरुद्ध लाग्न छुट कसैलाई नहुने बताए ।

अनुशासन समिति संयोजक टंकप्रसाद काफ्लेले मल्ललाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम पार्टीबाट निष्काशन गरिएको बताए । नेपाली कांग्रेस क्षेत्र नम्बर १ सभापति पोषण केसीले पार्टीको नीति, विधानविपरीत कार्य गर्नेलाई स्पष्टिकरणसहितको जवाफ माग गर्दा कुनै पनि जवाफ पार्टीलाई नदिएपछि पार्टीले अनुशासनविपरीत कार्य गरेको ठहर गर्दै कारबाही गरिएको जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार