11 September 2024  |   बुधबार, भदौ २६, २०८१

लेखकले माफी माग्दै भने- जंगली भालुबारे लेख्न खोजेको हुँ, सच्याएर पढिदिनू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १०, २०८०  

काठमाडौं :

लोक सेवा परीक्षाको तयारीका लागि लेखिएको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएपछि यसको चौतर्फी विरोध भइरहेको छ। श्री राम एकवाल दासले लेखेको वन रक्षक किताबमा महिलाबारे आपत्तिजनक प्रश्न र उत्तर राखिएको छ।

उक्त प्रश्नोत्तरको विरोधमा विभिन्न विद्यार्थी संगठन तथा महिलाले माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। यतिखेर पनि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ।

यता, लेखक दासले भने जंगली भालुबारे लेख्न खोज्दा अन्यथा परेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत सबैसँग माफी मागेका छन्। ‘मेरो बुक गेमस्काउट सी‍.गे. वन र वन्यजन्तुमा फोकस भएकोमा जंगली भालुको प्रवृत्ति र प्रकृति बारेमा बताउन खोजेकोमा अन्यथा टाइप भएको बुझिएकोले सो सच्याएर पढिदिनु होला,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

उनले अबदेखि उक्त पुस्तक यो गल्ति सच्याएर आउने बताए। ‘साथै कसैलाई अन्यथा परेकोमा म साह्रै दु:खी छु, त्यसको लागि माफी चाहन्छु, मेरो मनसाय केटी वा दिदी बहिनीहरूलाई अपमानित गर्ने पटक्कै होइन, यसमा अथवा अन्य कुनै अरू गलत टाइपको लागि पुनः माफी माग्दै सचेत पाठकहरूले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रष्ट पार्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्।

प्रकाशित मितिः बुधबार, साउन १०, २०८०     11:45:55 AM  |