खजुरा ।
खजुरा गाउँपालिका– २ मा रहेको दुर्गा मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।
रोटरी क्लब अफ सेन्ट्रल बाँके र पुल्चोक युवा सञ्जालको समन्वयमा रोट्रयाक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज र लायन्स क्लब अफ नेपालगन्ज मिड टाउनको सहभागितामा मन्दिर परिसरमा बिरूवाहरू रोपिएको रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष किशोर कृष्ण भण्डारीले जानकारी दिए ।
वातावरण संरक्षण गर्ने उद्देश्यले तीन सय ५० वटा बढी विभिन्न प्रजातीका बिरूवाहरू रोपिएको उनले बताए । निवर्तमान लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम र खजुरा–२ का वडाध्यक्ष धनिराम वलीको आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक संस्थाहरूको सक्रियताले समाजमा आमुल रूपान्तरण गर्न सकिने बताएका थिए । प्रत्येक सामाजिक संस्था तथा युवा क्लबको सक्रियताबाट नै समाजको मुहार फेर्न मद्दत पुग्ने विचार उनीहरूले व्यक्त गरे ।
मन्दिर परिसरमा गोल्डेन शावर, बोटल ब्रस, बेल, निम, सर्पगन्धा, अमला, सितलचिनी, जामुनलगायतका बिरूवाहरू रोपिएको पुल्चोक युवा सञ्जालका अध्यक्ष महेश खनालले जानकारी दिए । आगामी दिनहरूमा समेत अन्य सार्वजनिक स्थलहरूमा बिरूवाहरू रोपिने उनले बताए ।