शिवु खनाल । देउखुरी ।
निरन्तरको वर्षाले नदी र खोलानालाहरुमा बाढी आउँदा देउखुरी उपत्यकाका बस्तीहरु डुबानमा परेका छन् ।
देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका र राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका छन् ।
राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया लगाएतका गाउँहरु डुबानमा परेको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला (कपिलबस्तु) का प्रमुख पुरन भट्टले जानकारी दिए ।
उनका अनुसार राप्ती नदीको बहाव बढिरहेको र बस्तीहरु जोखिममा परिरहेको बताए । कतै कुनै समस्या भएमा तत्काल खबर गर्न सबै नागरिकलाई सार्वजनिक आह्वान गरी सतर्क बनाइएको उनले बताए ।
सशस्त्र प्रहरी सम्भावित जोखिम क्षेत्रमा तैनाथ गरी नागरिकलाई पनि सचेत बनाइरहेका छौँ , उनले भने,–। अझै लगातार वर्षा भए ठूलो क्षती निम्तीन सक्छ । राजपुर गाउँपालिका वडा नम्बर ५ को चंगुवा– भुर्किवा गाउँका एघार वटा घर डुबानमा परेका छन् । डुबान भएका घरका मानिसलाई सुरक्षित स्थानमा सारीएको छ ।
लमही नगरपालिकाको वडा नं १,२ र ३ को क्षेत्रमा डुवान परेपनि विस्तृत विवरण आउन सकेको छैन । सशस्त्र प्रहरी बल नेपाल नं। ४१ रिजर्भ गण अर्जुनखोला (कपिलबस्तु) का प्रमुख पुरन भट्टका अनुसार डुवान परेको क्षेत्रमा उद्धारको लागि जनशक्ती परिचालन गरिएको छ ।
त्यस्तै गढवा गाउँपालिका–५ को धरमपुर स्थित भर्खरै सम्पन्न भएको पुल वरपर पटान गरेको माटो खोलाले बगाउदा पुल नै जोखिममा परेको छ । त्यस्तै वडा नम्बर २÷३ को सिमानामा पर्ने सुपैला खोलाले बाटो कटान गर्दा आवत जावतमा समस्या भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिए ।
डुबान भएको क्षेत्रमा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र श्रेष्ठ, विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्