नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको मुख्यचौकमा सुरक्षाका लागि दैनिक प्रहरी तैथान हुन्छन् । सार्वजनिक सम्पत्ति हेर्नेसमेत जिम्मेवारी बोकेको नगर प्रहरीको दिनभर गस्ती हुन्छ । तर, सडकका रेलिङ भाँच्दा न देख्ने कोही छन् न त खोजी गरेर कारबाही गर्ने तत्परता नै यि निकायले गरेका छन् । जसको परिणाम व्यस्त सडकका रेलिङ कतै पनि सद्दे भेटिँदैनन् ।
यस विषयमा मिसन टुडेले बेलाबेला प्रश्न उठाइरहेको छ । ‘अरु त अरु नेपालगन्ज उपमहानगरपालिका अगाडिकै रेलिङसमेत भाँच्दासमेत यिनीहरुले भाँच्नेलाई खोजी गरेर कारबाही गर्न चासो दिएनन्,’ नेपालगन्ज–१२ की रीता जिसीले भनिन्, ‘सार्वजनिक सम्पत्तिको यस्तो हरिबिजोग अन्त हुँदैन होला ।’ नेपालगन्जको सडक विस्तार गरी चारलेन बनाउँदा आर्कषक रेलिङ राखिएका थिए । अहिले जम्मै रेलिङ कि त भत्काइएको छ कि त पाइप काटिएको छ ।
‘खासगर व्यापार गर्नेले आफ्नो अनुकूलताका लागि रेलिङ भाँचेर बाटो बनाए । यस्तो गर्नु गलत हो,’ धम्बोझीका रमेश बिष्ट भन्छन्, ‘कतिपय ठाउँमा त पाइपसमेत चोरी भएको प्रष्टै देख्न सकिन्छ ।’ नेपालगन्जमा जानेबुझेकाले नै रेलिङ भाँचेका कारण उनीहरुलाई कारबाही गर्ने निकायले उन्मुक्ति दिएको बिष्टको आरोप छ ।
नेपालगन्ज मेडिकल कलेज अगाडि एउटा निजी घर छ, जहाँ सबै सटर भाडामा छन् । त्यही सडक अगाडिको रेलिङ कुनै पनि सद्दे छैनन्, जम्मै भाँचिएको अवस्थामा छन् । रेलिङले पसल आउने ग्राहकलाई छेकेको भन्दै रेलिङ भाँचेर बाटो बनाउन काम अन्य ठाउँमा पनि भएको छ । रेलिङ जोगाउन नेपालगन्ज उपमहानगरपालिका र सडक डिभिजन कार्यालयले पहल गर्नुपर्ने सर्वसाधारणहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्