गणेश रावत । कोहलपुर ।
कोहलपुर–२ प्रेमनगरको १३ बिगाहस्थित खेलमैदानमा एउटा गेट निर्माण गरिएको छ । तीनवटा पिलर भएको उक्त गेट इट्टाले निर्माण गरिएको छ । त्यसमा सेतो रङले ‘पेन्टिङ’ भएको छ । राष्ट्रिय खेलकुद परिषद्को १० लाख रुपैयाँमा कुटुम्ब निर्माण सेवाले उक्त गेट निर्माण गरेको हो । यही गेट अहिले सामाजिक सञ्जालमा भाइरल छ । अचम्मित हुँदै सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्काे आलोचना गरेका छन् ।
उक्त योजना स्थानीय स्तरबाट न माग गरिएको थियो न त वडा र पालिकासँग समन्वय गरिएको थियो । राजनीतिक आँडमा सीधै केन्द्रबाट योजना पारिएको थियो । अहिले निर्माण भएको संरचनाका लागि आठ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको निर्माण सेवाका सञ्चालक बखत शाहीले जनाए । ‘सबै काम भएको छैन । मापदण्डअनुसार भएको कामको मात्र पैसा पाएको छुँ,’ उनले भने, ‘अब थोरै काम बाँकी छ । त्यो पूरा गर्छुँ ।’ यहाँ उनले लिने भुक्तानी रकम र गर्ने बाँकी कामको बारेमा प्रश्न उठेको छैन ।
उनले अहिलेसम्म गरेको काम र लिएको भुक्तानीको आलोचना भएको हो । ‘सम्झौतामा इट्टा प्रयोग गर्ने थियो, सोहीअनुसार काम भयो,’ उनी भन्छन्, ‘यसमा मेरो कुनै कमजोरी छैन ।’ रकम भुक्तानी भएजतिको काम सम्पन्नताको प्राविधिक मूल्यांकन भएको उनी बताउँछन् । तर, स्थलगतरुपमा त्यो देखिँदैन । यसको मूल्यांकन राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनियर चिरञ्जीवि लम्सालले गरेका थिए ।
‘प्राविधिक मूल्यांकनअनुसार काम भएको छ । म पनि स्थलगत निरीक्षण गरेको हो,’ उनले भने, ‘सबै रकम भुक्तानी भएको छैन । काम हुन पनि बाँकी छ ।’ निर्माण कम्पनीका सञ्चालक शाही र इञ्जिनियर लम्सालले दाबी गरेजस्तो काम भएको देखिँदैन । आठ लाख रकम बराबरको काम नदेखिएपछि वडा कार्यालयले पनि निर्माण कम्पनीसँग आवश्यक कागजात मागेको छ ।
यस विषयमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उक्त योजना नगरको नभइ संघीय सरकारकै भएको बताएका छन् । संघीय बजेट आउँदा स्थानीय सरकारलाई जानकारी नभएको प्रति उनले गुनासोसमेत व्यक्त गरे । ‘संघ र प्रदेश सरकारले दुई÷तीन लाख रुपैयाँका कार्यक्रम बनाउँछ, त्यो पनि स्थानीय सरकारसँग समन्वयन गरी,’ उनले प्रश्न गरे, ‘पाँच÷सात लाखका योजना बनाएर बजेट विनियोजन गर्ने र उतैबाट कोटेसन सम्झौता किन गरिन्छ ?’
वडा नम्बर २ का वडाध्यक्ष हरि कठायतले वडा र स्थानीय सरकारसँग सम्वयन नगरी उक्त गेट निर्माण भएको बताए । ‘यहाँका नागरिकले मलाई प्रश्न गरिरहेका छन् । मेरो वडामा हुने योजना मलाई जानकारी हुनुपर्छ की पर्दैन,’ उनी भन्छन्, ‘उक्त योजनाको सबै विवरण माग गरेको छुँ ।’ कुटुम्ब निर्माण सेवाले असार पहिलो सातादेखि उक्त गेट निर्माणको काम सुरु गरेको थियो । निर्माण कम्पनीका सञ्चालक शाहीका अनुसार असार २८ गतेदेखि काम रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्