नेपालगन्ज आइसिपी सञ्चालनमा आएन



नेपालगन्ज (बाँके) ।

नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी) अझै सञ्चालनमा आउन सकेको छैन । अन्य संरचना निर्माण पूरा भए पनि अहिलेसम्म भन्सार, प्रशासनिक भवन, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, महिला प्रहरी ब्यारेक, आयात, निर्यात गोदाम घर निर्माण भइ नसक्दा आइसिपी सञ्चालन हुन नसकेको हो ।

जेठ २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट उद्घाटन गरेका थिए । त्यतिबेला दुई देशका मालवाहक गाडी सीमा वारपार गराइएको थियो । तर, आइसिपीभित्र भौतिक संरचना निर्माणको काम जारी नै रहेकाले सञ्चालनमा आउन नसकेको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए ।

आइसिपी नेपालगन्ज र भारतको रुपइडिहामा अवस्थित छ । नेपालतिर ८७ बिघामा फैलिएको आइसिपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण हुनुपर्नेछ । ‘आइसिपीभित्र निर्माण भइरहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी भवन, पानीट्यांकी र कम्पाउन्ड वाल फिनिसिङ भइरहेको छ,’ भवन डिभिजन प्रमुख खनालले भने ।

उनले भौतिक संरचना निर्माणको प्रगति ९५ प्रतिशत भइसकेको बताए । आइसिपीलाई आवश्यक पर्ने विद्युत्का लागि नेपाल विद्युत् प्राधिकरणलाई पैसा बुझाइसकेको बताए । ‘विद्युत् लाइन तान्नका लागि हामीले रकम बुझाइसकेका छौँ । तर, अहिलेसम्म विद्युत् लाइन तान्ने काम भएको छैन,’ उनले भने, ‘सम्पूर्ण भौतिक संरचना निर्माण गर्न अझै डेढ/दुई महिना लाग्छ ।

आइसिपी दसैँअघि सञ्चालनमा आउने छाँट देखिँदैन ।’ आइसिपी निर्माण कार्य पूरा नभएकाले दुई देशका मालवाहक गाडी जमुनाह भएर आउजाउ गरिरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार