11 September 2024  |   बुधबार, भदौ २६, २०८१

नरैनापुरबाटै श्रम स्वीकृति दिन सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ८, २०८०  

नेपालगन्ज ।

बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । यसैअन्तर्गत नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि यो काम सुरु गरेको छ ।

गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो । बैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने मुकेरीले बताए । ‘यसअघि अन्यत्रै गएर यससम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ,’ उनले भने ।

नरैनापुरबाट पहिलो दिनमा तीनजनाले उक्त सेवा लिएका छन् । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मुकेरीले बताए ।

उनका अनुसार कल्याणकारी कोषका लागि एक हजार पाँच सय, बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ भने सामाजिक सुरक्षा कोषको पैसा नलाग्ने संयोजक मुकेरीले बताए । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनहरुलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।

बैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् बैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, साउन ८, २०८०     8:42:13 AM  |