19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

रुपैडिया जान परिचयपत्र अनिवार्य, परिचयपत्र नदेखाउने नेपालीलाई प्रवेशमा रोक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ६, २०८०  

नेपालगन्ज ।

भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल (एसएसबीले) जमुनाह नाका हुँदै भारत प्रवेशमा कडाइ गरेको छ । पाकिस्तानी नागरिक नेपालको बाटो हुँदै भारत प्रवश गरेपछि एसएसबीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको हो । नेपालीबाहेक तेस्रो मुलुकको नागरिक अवैधरुपमा प्रवेश नगरोस् भनेर सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारिएको भारतीय एसएसबीले जनाएको छ ।

भारतको केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । सोहीअनुसार एसएसबीले भारत प्रवेश गर्ने नेपालीका लागि नागरिकता वा परिचय खुल्ने कागजात अनिवार्य गरेको छ । नागरिकता, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्ता नेपाली भएको परिचयपत्र नदेखाउने नेपाली नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाइएको छ ।

नयाँ प्रावधानअनुसार नेपाली नागरिकहरुले आफूसँग भएको नेपाली नागरिक भएको परिचय खुल्ने कागजात लिएर भारत जान थालेका छन् ।
भारतले सीमा सुरक्षा कडाइ पार्दा सीमा क्षेत्रका भिडभाड बढी भएको छ । खासगरी पछिल्लोपटक एकजना पाकिस्तानी महिला नेपालको बाटो हुँदै भारतमा प्रवेश गरेको विषयले भारतमा तरंग पैदा गरेको छ । उक्त प्रकरण पछि नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिक आफ्नो देशमा प्रवेश गरेको विषयलाई भारतले गम्भीरतापूर्वक लिएको छ ।

पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मिणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ । आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन् । उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो । त्यसैले भारत र पाकिस्तानमा चर्चित रहेको ती दुईबीचको प्रेम प्रसंगमा नेपाल पनि जोडिएको छ ।

नेपालीअधिकारीहरूले सीमा दुईपटक नेपाल आएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार पहिलोपटक सीमाबाट पाकिस्तान फर्किएको र दोस्रोपटक नेपाल भित्रिएको मात्र देखिन्छ । कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेशाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ ।

भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा गुलाम हैदर प्रवेशाज्ञाबिना भारत पुगेको खुलेको हो । त्यस प्रकरणपछि रुपैडियालगायतका नाका प्रवेशमा भारतले कडाइ गरेको छ । यस्तो कडाइले भारत जाने नेपाली नागरिकले सास्ती व्यहोर्नु परेको छ ।

प्रकाशित मितिः शनिबार, साउन ६, २०८०     10:13:30 AM  |