बाँके ।
गत आव २०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्दार गरिएको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्दार गरिएको हो ।
अधिकांश वन्यजन्तु जीवितै र केही मृत अवस्थामा उद्दार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले जानकारी दिए ।
अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघ लगायतका वन्यजन्तुको जिल्लाका विभिन्न स्थानबाट उद्दार गरिएको थियो ।
सूचना अधिकारी खड्काले दिएको जानकारी अनुसार १० वटा अजिङ्गर, रशियल भाइपर दुई वटा, रेड स्यान्ड बो दुई वटा, मगर गोही चार वटा, गोमन सर्प १२ वटा, चितुवाको बच्चा एक वटा, रातो आसामी बाँदर एक वटा र सुन गोहोरो एक वटा उद्दार गरिएको हो ।
यस्तैगरी करेत सर्प एक वटा, निल गाइको बच्चा एक वटा, हुचिल (वान उल) एक वटा, धामन सर्प एक वटा, बँदेल एक वटा (मृत), चितुवा एक वटा (मृत), सालक एक वटा, बाघ एक वटा (मृत) र चित्तलको बच्चा एक वटा उद्दार गरिएको थियो ।
जीवितै उद्दार गरिएका वन्यजन्तुहरूलाई बाँकेका विभिन्न सामुदायिक वनहरूमा पुर्नस्थापना गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको तथा मृत उद्दार गरिएका वन्यजन्तुहरूलाई खाल्डो खनेर गाडिएको थियो ।
घाइते वन्यजन्तुहरूलाई डिभिजन वन कार्यालयमा राखेर औषधि उपचार पश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुर्नस्थापना गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसहरूको बढी चहलपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु जस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरू आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र परेका त्यसता वन्यजन्तुहरूलाई उद्दार गरिँदै आएको उनले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रजातिका ३१ वटा वन्यजन्तुहरूको उद्दार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
उद्दार गर्नुपर्ने अवस्थामा वन्यजन्तुहरू देखेमा नजिकैको वन कार्यालय वा प्रहरीलाई खबर गर्न सूचना अधिकारी खड्काले सबैलाई आग्रह
गरे ।