नेपालगन्ज ।
नेपालगन्ज भन्सार कार्यालयलाई तीन वर्षयता राजस्व असुलीका लागि प्राप्त लक्ष्य भेटाउन ‘फलामको चिउरा चपाउनु’ सावित भएको छ । कुनै बेला लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व असुली गर्ने नेपालगन्ज भन्सारले गत आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य भेटाउन त परै जाओस् लक्ष्यभन्दा ३८ प्रतिशत कम मात्र राजस्व संकलन गर्न सक्यो ।
गत आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्ज भन्सारलाई रू २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य प्राप्त भएको थियो । तर जम्मा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार मात्रै राजस्व संकलन भएका छ । यो लक्ष्यको ६२.०५ प्रतिशतमात्रै हो । पछिल्लो एक दशकमा लक्ष्यको निरासाजनक राजस्व असुलीको यस्तो अवस्था नेपालगन्ज भन्सारले पहिलो पटक भोगेको हो ।
जबकी आर्थिक वर्ष २०७३/०७४ राजस्व संकलन प्रतिशत १ सय ३८ प्रतिशत पुगेको थियो । उक्त आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य ५ अर्ब ५३ लाख थियो भने संकलनको अवस्था ७ अर्ब २० करोड ७३ लाख थियो । हुन त पछिल्लो आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्यको आकार धेरै भएको पाईन्छ । एकातिर लक्ष्यको आकार धेरै र त्यसैमा उत्पन्न आर्थिक संकटले राजस्व संकलन नराम्रो गरी प्रभावित भएको भन्सार अधिकृतहरु बताउँछन् ।
गत आर्थिक वर्ष मात्रै नभई आर्थिक वर्ष २०७८/०७९ मा पनि नेपालगन्ज भन्सारले राजस्व संकलनको लक्ष्य भेटाएको थिएन । उक्त आर्थिक वर्षमा २५ अर्ब २१ करोड लक्ष्य रहेकोमा २२ अर्ब ३१ करोड मात्रै राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ८८.५३ प्रतिशत मात्रै हो ।
नेपालगन्ज भन्सारका प्रमुख नरबहादुर थापाले नीतिगत निर्णयमा गरिएका परिवर्तनका कारण भन्सार राजस्व देशैभर प्रभावित भएको बताउँछन् । सरकारले केही वस्तुहरुमा लगाएको प्रतिबन्ध र व्यवसायमा आएको गिरावट आएको हो ।
नेपालगन्ज भन्सारबाट भारत हुँदै आयात हुने मुख्य बस्तुहरूमा पेट्रोलियम पदार्थ हो । नेपालगन्ज भन्सारमा असुल हुने कूल राजस्व असुलीको ठूलो मात्रा राजस्व पेट्रोलियम पदार्थको रहेको छ । भारत निकासी हुने बस्तुहरुमा खयर कत्था, जडिबुटी, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरू गहुँको पीठो, टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन् ।
राजस्व लक्ष्य नराम्रो गरी प्रभावित भएपछि नेपालगन्ज भन्सारले राजस्व संकलनमा कडाई गरेको छ । उसले रू एक सय भन्दा माथीको सामान ल्याउनेलाई समेत करको दायरामा ल्याउने गरी कडाई गरिरहे पनि तस्करहरूले अवैधरुपमा सामान ल्याई नेपालगन्जको बजारका पसलसम्म पुर्याउन छाडेका छैनन् ।
खण्डहर बने छोटी भन्सार
नेपालगन्ज भन्सार कार्यालय अन्र्तगत ७ वटा छोटी भन्सार कार्यालयहरू रहेका छन् । यी कुनै पनि सञ्चालनमा छैनन् भने सबैको भौतिक पूर्वाधार खण्डरहरमा परिणत भएका छन् ।
बाँकेमा सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भंघोटना, साईगाउँ, उढरापुरमा छोटी भन्सार थिए । यीमध्ये उढरापुर, भगवानपुर, सुइया बघौडा बाहेक अन्य छोटी भन्सारको आफ्नै भवन रहे पनि अहिले कामै नलाग्ने गरी खण्डहर बनेका छन् ।