पूर्व- पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ।
मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४:५० बजे लमही नगरपालिका-९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।
ट्रक खसेपछि अगाडिको भाग जमिनमा धसिँदा चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका-६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिएका थिए।
ट्रक खोलामा खसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको टोली बिहान ५ बजे दुर्घटनास्थल पुगेको थियो। ट्रकका लुम्बिनी संस्कृत नगरपालिका-७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँचेका थिए।
‘चालक सिटमा च्यापिएको र ट्रकमा भएको मलले अगाडिको भागमा दबाब दिएरहेकाले तत्काल स्काभेटर प्रयोग गर्नु चालकमाथि थप खतरा हुन्थ्यो,’ अमेलियाका इन्सपेक्टर बर्तौलाले भने।
सिटमा च्यापिए पनि चालक बोलिरहेका थिए। ‘नआत्तिउन् भनेर हामी उनीसँग बोलिरहेका थियौं,’ इन्सपेक्टर बर्तौलाले भने।
केहीबेरमा त्यहाँ बाँके र दाङबाट प्रहरीको टोली आइसकेको थियो। नेपाली सेनाको टोली पनि दुर्घटनास्थल पुगिसकेको थियो। प्रहरीले ग्यास कटर, ग्रेन्डर मेसिन, गल र काठ काट्ने आरी जुटायो।
‘पहिला मल हटायौं, ढोका काटेर पहिले ब्याट्री निकाल्यौं। के- के अवरोधहरू थिए क्रमैसँग एउटाएउटा हटाएर बिस्तारै निकाल्यौं। हतार गर्दा थप च्यापिन सक्ने खतरा हुन्थ्यो त्यसकारण अवरोधहरू हटाउँदै गयौं र ह्यान्डिल, क्लज र ब्रेकलाई ग्रेन्डर मेसिनले काटेपछि चालक आफै यता सरे र उद्धार गरेर उनलाई अस्पताल पठायौं,’ इन्सपेक्टर बर्तौलाले भने।
उनको खुट्टा र छातीमा असर गरेको छ। नेपाली सेनाको टोलीले प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेज पठाइएको इन्सपेक्टर बर्तौलाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्