प्रेमिकाले बलात्कार आरोप लगाएपछि चिकित्सक पक्राउ



काठमाडौं।

काठमाडौं प्रहरीले बलात्कार आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कोल्बीका ३६ वर्षीय चन्द्र भूषण चौधरी छन्। प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। विवाह गर्ने प्रलोभन देखाएर धोका दिएको आरोप २६ वर्षीया प्रेमिकाको रहेको छ।

आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन्। परिवारले विवाहका लागि केटी खोज्न थालेपछि आफूविरुद्ध जाहेरी परेको उनले अनुसन्धानका क्रममा बताएका छन्।

चौधरी २०७५ सालमा बंगलादेशबाट एमबीबीएस सकेर नेपाल फर्किएका थिए। काठमाडौंको शान्तिनगरमा डेरा कोठामा बस्ने क्रममा सोही घरमा बस्दै आएकी जाहेरवालासँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन्।

प्रेम सम्बन्धबारे दुवै परिवारलाई थाहा भए पनि आफ्नो परिवारले आनाकानी गरेका कारण आफू प्रेमिकाबाट टाढिनु परेको उनको भनाई छ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार