12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

अब कोहलपुरमै गीत रेकर्ड गर्न सकिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०८०  

कोहलपुर : बाँकेको कोहलपुरमा गीत रेकर्ड गर्न सकिने भएको छ । नगरपालिकामै पहिलोपटक रेकर्डिङ स्टुडियो खुलेसँगै कोहलपुर मै गीत रेकर्ड गर्न सकिने भएको हो । शनिबार एक कार्यक्रमका बीच कोहलपुर ११ गोलपार्क नजिकै कर्णाली दोहोरी घरको तानसेन रेकर्डिङ स्टुडियो उद्घाटन गरिएको हो । एक कार्यक्रमका बीच बाँके सुन चाँदी व्यवसायी संघ कोहलपुर बाँकेका संस्थापक अध्यक्ष बालकृष्ण दियालीले स्टुडियोको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै उनले कोहलपुर क्षेत्रमा स्टुडियो स्थापना हुनु खुसीको कुरा भएको बताए । उनका अनुसार संगीत क्षेत्रमा भविष्य खोजिरहेकाहरुको लागि स्टुडियो स्थापना हुनु महत्वपूर्ण कुरा हो । स्टुडियोमार्फत गाउँघरमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न सकिने उनले बताए ।

‘कलाकार भनेका आँशु कवि जस्तै हुन् । उनीहरुमा विलक्षण प्रतिभा हुन्छ । अब कोहलपुर कलाकार उत्पादन गर्ने थलो बन्न सक्छ,’ उनले भने,‘काठमाडौंमा बस्दैमा राष्ट्रिय र कोहलपुरमा बस्ने स्थानीय कलाकार हुँदैन । कलाकार आफ्नो प्रतिभामा स्थापित हुन्छन् ।’
उक्त अवसरमा बोल्दै गजलकार तथा साहित्यकार देवकी निरौलाले संगीत क्षेत्रमा कोहलपुरमा भविष्य खोजिरहेकाहरुको लागि अवसर रहेको बताइन् । कोहलपुरमा सांगितिक माहोल सिर्जन ागर्न स्टुडियोले भूमिका खेल्ने उनले बताइन् ।
उक्त अवसरमा बोल्दै कर्णाली दोहोरी घरका अध्यक्ष तथा स्टुडियो सञ्चालक बलु तामाङले कोहलपुरमा स्तरीय सेवाका लागि स्टुडियो स्थापना गरेको बताए । उनका अनुसार स्टुडियो स्तरीय तथा सस्तो मूल्यमा गीत रेकर्ड गराउन सकिनेछ ।

‘अब काठमाडौं जाने झन्झट हुँदैन । काठमार्डौ जस्तै कोहलपुरमा स्तरीय स्टुडियो मार्फत गीत रकर्ड गर्न सकिनेछ,’ तामाङ भन्छन्, ‘यसअघि हामीले हवल्दापुरमा पनि स्टुडियो खोलेका थियौं । अहिले भने पहिलाको भन्दापनि स्तरीय स्टुडियो खुलेको छ ।’
कर्णाली दोहोरी घर एक वर्ष अघि स्थापना भएको हो । दोहोरी घरले सांगितिक गतिविधिसँगै समाज सेवा पनि गर्ने उनले बताएका छन् ।

स्टुडियो भने कूल सात लाख भन्दा बढी लगानीमा स्थापना गरिएको अध्यक्ष तामाङको भनाइ छ ।
स्टुडियोबाट अब लाइभ दोहोरी सञ्चालन हुने भएको छ ।पश्चित क्षेत्रमा लुकेर रहेका प्रतिभाहरुले लाइभ दोहोरीमा निःशुल्क रुपमा सहभागिता जनाउन पाउने उनले बताए । यस्तै दोहोरी घरमा संगीत कक्षा समेत सञ्चालन हुने उनले बताएका छन् ।

प्रकाशित मितिः आइतवार, असार ३१, २०८०     6:27:02 PM  |