21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

कोहलपुरमा नापी र मालपोत कार्यालय सञ्चालनको अन्तिम तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०८०  

कृष्ण ओली । बाँके ।

उद्घाटन भएको करिब एक वर्षपछि कोहलपुरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने भएका छन् । साउन अन्तिम साता वा भदौ पहिलो सातादेखि कार्यालय सञ्चालन गर्ने गरी तयारी थालिएको छ । कोहलपुर–११ स्थित गोलपार्क नजिकै भाडाको घरमा नापी र मालपोत कार्यालय सञ्चालनको तयारी गरिएको छ ।

गएको भदौ १२ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नापी र मालपोत कार्यालयको उद्घाटन गरेकी थिइन् । त्यतिबेला आवश्यक तयारीबिनै कार्यालय उद्घाटन गरिएका कारण अहिलेसम्म नापी र मालपोत कोहलपुरमा सञ्चालनमा आउन सकेको थिएन । कार्यालय सञ्चालनका लागि गोलपार्क नजिकै नापी र मालपोतले छुट्टाछुट्टै निजी घर भाडामा लिइसकेका छन् ।

नापी कार्यालय कोहलपुरका प्रमुख दिनेश भण्डारीले अहिले कार्यालय सञ्चालनका लागि व्यवस्थानको काम धमाधम भइरहेको जानकारी
दिए । ‘कार्यालय सञ्चालनका लागि घर भाडामा लिएर अहिले डेकोरेसनको काम भइरहेको छ,’ उनले मिसन टुडेसँग भने, ‘असारभित्रै कार्यालय डेकोरेसनको काम सकिन्छ ।’ साउन १ गतेदेखि कार्यालय सञ्चालनका लागि नापी विभागबाट पत्र आए पनि त्यो भने सम्भव नहुने कार्यालय प्रमुख भण्डारीले बताए । उनका अनुसार साउन अन्तिम साता वा भदौ पहिलो सातादेखि कार्यालय सञ्चालनमा ल्याउनेगरी अहिले काम भइरहेको छ ।

‘हामीले मात्रै सञ्चालन तयारी गरेर हुँदैन । हामीसँगै मालपोत कार्यालयसमेत सर्नुपर्छ । उहाँहरूले समेत तयारी गर्नुभएको होला,’ कार्यालय प्रमुख भण्डारीले भने, ‘हाम्रा केही प्राविधिक काम बाँकी छन् । अन्य काम चालु आर्थिक वर्षमा नै सम्पन्न भइसक्छन् । साउन अन्तिमसम्म सञ्चालनमा आउनसक्छ ।’

नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० जना कर्मचारीको दरबन्दीसमेत स्वीकृत गरिसकेको छ । स्वीकृत दरबन्दीअनुसार नापीको कोहलपुर कार्यालयमा एक उपसचिव, दुई नापी अधिकृत, चार नापी सर्वेक्षक, ६ अमिन, एक कम्युटर सहायक, एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी हुनेछन् ।

अन्य चारजना कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको कार्यालय प्रमुख भण्डारीले मिसन टुडेलाई जानकारी दिए । ‘कर्मचारीको दरबन्दीलगायतका कामसमेत भइसकेका छन् । कार्यालय सञ्चालनमा आएपछि कोहलपुरबाटै कर्मचारीले काम गर्नुहुनेछ,’ उनले भने । कार्यालय डेकोरेसनको काम अन्तिम चरणमा पुगेसँगै अनलाइनको लागि चाहिने नेटवर्किङको लागि नापी विभागमा पहल भइरहेको छ ।

‘अनलाइन सेवाका लागि कार्यालयमा नेटवर्किङ चाहिन्छ,’ उनले भने, ‘त्यसका लागि केही दिनमै काठमाडौं विभागमा जाँदैछुँ । डेकोरेसन सकिएसँगै नेटवर्किङ गर्नुपर्ने काम बाँकी हुन्छ । विभागबाट प्राविधिक कहिलेसम्म आउनुहुन्छ हेरौं ।’ मालपोत कार्यालय कोहलपुरका प्रमुख विक्रम गिरीले साउन अन्तिम वा भदौ पहिलो सातादेखि कार्यालय सञ्चालनमा ल्याउनेगरी काम भइरहेको जानकारी दिए ।

चालु आर्थिक वर्षमा कोहलपुर कार्यालयको लागि घरभाडालगायतका लागि बजेट विनियोजन भए पनि अन्तिममा आएर अर्थ मन्त्रालयले फिर्ता लिएको थियो । कार्यालय राख्नका लागि घरभाडासमेत सम्झौता भइसकेको बताउँदै उनले साउनदेखि कार्यालय व्यवस्थापनको काम थालिने बताए ।

‘यसै आवमा विनियोजन गरिएको रकम पछि अर्थ मन्त्रालयले फिर्ता लिएपछि व्यवस्थापनका काममा समस्या भएको हो,’ कार्यालय प्रमुख गिरीले भने, ‘आगामी आव २०८०÷०८१ मा कार्यालयका लागि बजेट छुट्याइएको छ । साउनदेखि कार्यालय व्यवस्थापन गर्ने काम अगाडि बढ्छ ।’ मालपोत कार्यालय कोहलपुरका लागि २३ जना कर्मचारीको दरबन्दी स्वीकृतसमेत भइसकेको छ । ‘बजेट भएको भए चालु आवमा नै कार्यालय व्यवस्थापनको काम हुन्थ्यो,’ कार्यालय प्रमुख गिरीले भने, ‘अब साउनमा नै व्यवस्थापनको काम अगाडि बढ्छ । बजेट नहुँदा कार्यालय सञ्चालनको काम केही पछाडि स¥योभन्दा हुन्छ ।’

कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेकाले कार्यालय व्यवस्थापनको काम सकेर भदौ अगाडि कार्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । अहिले नापी र मालपोत कार्यालयले नेपालगन्जस्थित कार्यालयमा कोहलपुरका लागि चाहिने श्रेस्ता, नक्सालगायतका आवश्यक कागजात छुट्याइरहेका छन् । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले कोहलपुरमा उद्घाटन भइसकेको मालपोत र नापी कार्यालय सञ्चालनको लागि पहल भइरहेको बताइन् ।

‘करिब एक वर्ष अगाडि नै उद्घाटन भएका कार्यालय सञ्चालनमा आउन नसक्नु दुःखको कुरा हो,’ उनले भनिन्, ‘यस विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसँग भेटेरै छलफल भइसकेको छ । सबैजना सकारात्मक हुनुहुन्छ ।’

बजेट विनियोजनसमेत भइसकेकाले सकेसम्म साउनभित्रै दुवै कार्यालय सञ्चालनमा ल्याउनको लागि पहल भइरहेको सांसद नमुनाले बताइन् । कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापनाका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले संयुक्तरुपमा पहल गरेका थिए । स्थानीय तहले पनि प्रयास गरेको थियो । यहाँका दलहरुले बेलाबेला संयुक्तरुपमा संघीय सरकारलाई नापी र मालपोत कार्यालय सञ्चालनका लागि दबाब दिँदै आएका थिए ।

भाडाका घर कार्यालय सञ्चालन हुने

कोहलपुरमा तत्कालका लागि भाडाको निजी भवनमा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने छन् । कोहलपुर नगरपालिकाले दिएको नगर विकास समितिको भवन जीर्ण र साँघुरो भएपछि दुवै कार्यालय भाडाको घरमा सञ्चालनमा आउन लागेका हुन् । त्यसका लागि गोलपार्क नजिकै नापी र मालपोत कार्यालयले भाडामा घर लिनको लागि घरधनीसँग सम्झौतासमेत गरिसकेका छन् । फरकफरक घरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने छन् ।

कार्यालय सञ्चालन गर्ने घरको भाडा सम्बन्धित कार्यालय आफैँले तिर्नेगरी बजेट नै विनियोजन भएको छ । मालपोत कार्यालय कोहलपुरका प्रमुख विक्रम गिरीले कार्यालयको भाडा भनेर विभागबाट नै रकम प्राप्त भएको जानकारी दिए । ‘चालु आवमा समेत कार्यालय भाडा भनेर रकम आएको थियो । पछि त्यो रकम फिर्ता भयो,’ उनले भने, ‘वार्षिक ६ लाख रूपैयाँ तिर्नेगरी घरभाडा सम्झौता गरिसकेका छौं । त्यसको घरभाडासमेत हामी आफैँ तिर्छौं ।’

नापी कार्यालयले समेत मासिक ५० हजार रूपैयाँ तिर्नेगरी घरभाडा सम्झौता गरिसकेको छ । ‘आफ्नै भवन नभएको र अन्य सरकारी भवनसमेत उपलब्ध नभएकोले आफैँ भाडा तिरेर अहिले कार्यालय भाडाको भवनमा सञ्चालनमा ल्याउन लागेका हौं,’ नापी कार्यालय कोहलपुरका प्रमुख दिनेश भण्डारीले भने, ‘भाडाकै भवनबाट भए पनि सेवाग्राहीलाई हामी सेवा दिन तयार छौं । जग्गा प्राप्त भए, आफ्नै भवन निर्माणका लागि बिस्तारै बजेट विनियोजन हुनसक्छ ।’

कोहलपुर नगरपालिका प्रवक्ता नमबहादुर आले मगरले पुरानो बसपार्कमा कार्यालय सञ्चालनका बारेमा छलफल भइरहेको बताए । ‘सवारी साधन पार्किङलगायतले हिसाबले पनि उपयुक्त हुने भएकोले नापी, मालपोत र यातायात कार्यालयको लागि छलफल भएको थियो,’ उनले मिसन टुडेसँग भने, ‘पुरानो बसपार्कमा ठाउँ पनि धेरै भएकोले छलफल अगाडि बढाइएको हो ।

कुनै निर्णय भने भएको छैन ।’ पछि मालपोत र नापी कार्यालयले भवन निर्माणका लागि जग्गा माग गरेमा पुरानो बसपार्कमा खाली रहेको जग्गा दिन सकिनेमा प्रवक्ता आले मगरले संकेत गरे । ‘उहाँहरूले अहिले टेण्डर आह्वान गरेर घरहरू कार्यालयको लागि भाडामा लिइसक्नु भएको छ,’ उनले भने, ‘भोलिका दिनमा चाहिए पुरानो बसपार्कमा उपयुक्त देखिएमा दिन सकिन्छ ।’

तीनवटा पालिकावासीलाई सहज हुने

कोहलपुरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आएपछि तीन पालिकाका जग्गासम्बन्धी सबै काम हुने छन् । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगन्ज जानुपर्ने अन्त्य हुनेछ । राप्तीसोनारी गाउँपालिकाका दुई वडाको जग्गासम्बन्धी काम भने नेपालगन्जबाट हुने व्यवस्था मिलाउन पहल थालिएको छ ।

वडा नम्बर ६ र ७ लाई नेपालगन्जबाट नै कामकाज हुने व्यवस्थाको लागि पहल थालिएको लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले
बताइन् । ‘राप्तीसोनारीका दुई वडाका लागि भौगोलिकरूपमा कोहलपुरभन्दा नेपालगन्ज नै नजिक पर्छ,’ उनले भनिन्, ‘त्यसैले नेपालगन्जमै रहेका नापी र मालपोतबाट कामकाज हुने व्यवस्था मिलाउन पहल भइरहेको हो ।’

गाउँ कार्यपालिका बैठकले समेत निर्णय गरेर नापी र मालपोत विभागमा सिफारिस गरिसकेको छ । सोबारे हालसम्म पनि कुनै निर्णय नआएको नापी कार्यालय कोहलपुरका प्रमुख दिनेश भण्डारीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, असार ३१, २०८०     2:16:48 PM  |