मधुर पौडेल । बाँसगढी ।
बर्दियाको बाँसगढीबाट प्रहरीले जंगलमा लुकेको अवस्थामा एकजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको टोलीले लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको हो ।
गुलरिया नगरपालिका–१२ लालपुर बस्ने ४८ वर्षीय नादिर हुसेन शेखलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीलाई प्रहरीले बाँसगढी नगरपालिका–७ मा रहेको चौधरीपुर जंगलबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका शेखको साथबाट प्रहरीले चार ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध ब्राउनसुगर कारोबारको लागि बाँसगढी आएका उनी प्रहरीले पिछा गरेको थाहा पाएपछि जंगलमा गएर लुकेका थिए ।
लागुऔषध कारोबारी शेखलाई प्रहरीले जंगलमा घेरा हालेर नियन्त्रणमा लिएको थियो । ‘ब्राउनसुगर बिक्री गर्न बाँसगढी आएका उनी प्रहरी पिछा लागेको थाहा पाएपछि जंगलमा लुकेका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘उनीलाई घेरा हालेर पक्राउ गर्न सफल भएका हौं ।
उनको साथबाट ब्राउनसुगर बरामदसमेत भयो ।’ बाँसगढी प्रहरीले शेखले प्रयोग गर्ने भे१०प६९३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । लागुऔषधसहित पक्राउ परेका शेखमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्