नेपालगन्ज ।
जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गर्ने निर्माण कम्पनीको कर्मचारी भएको गाउँपालिकाले जनाएको छ । त्यसरी किर्ते गर्नेविरुद्ध अझै कारबाही गरिएको छैन । तर पालिकाले किर्ते भएको थाहा पाएपछि कुनै रकम भुक्तानी नगरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
उनले भुक्तानी पनि नगरिएको र अब पनि दिने अवस्था नरहेको बताए । गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवले आफ्नो किर्ते दस्तखत गरी भ्रष्टाचार गर्न थालेको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा कारबाहीका लागि निवेदन दिन खोजे पनि दिइएको छैन ।
पालिकाको गेट निर्माण गर्ने विषय विवादित बनेको हो । योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिन थालेपछि किर्ते गरी भ्रष्टाचार गर्न थालेको रहस्य खुलेको थियो ।
संयोजकको किर्ते दस्तखत गरिएको प्रतिवेदनमा पूर्वाधार संयोजक तथा सदस्य टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ति कादु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय र योजना शाखा प्रमुख तथा सदस्य सचिव शोभा पौडेलको दस्तखत छ । भुक्तानी रोके पनि किर्ते गर्ने उपर कारबाही गर्ने बारेमा पालिका अस्पष्ट छ ।
प्रतिक्रिया दिनुहोस्