भ्रुण हत्या गर्न नमान्दा प्रेमिकाको हत्या



गणेश विशु । बाँके

बर्दियामा पाँच महिने गर्भवती महिलाको हत्या भएको छ । गुलरिया नगरपालिका–२, की ३० वर्षीया सञ्जु धोबीको हत्या भएको हो ।
गुलरिया नगरपालिका–१, का ४१ वर्षीया प्रकाश भन्ने ओमप्रकाश यादवले सञ्जुको हत्या गरेको प्रहरीको दाबी छ । कात्तिक २१ गते गुलरिया नगरपालिका–४ जब्दिघाट आसपास ति महिलाको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कात्तिक २१ गते हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गतेअर्थात पाँच महिनापछि बेवारिसे फेला परेको थियो । नदीमा माछा मार्न गएका स्थानीय सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धानका लागि महिलाले लगाएका लत्ताकपडा र गरगहना सुरक्षित राखेको थियो । मृतक सञ्जुको घाँटीमा डोरी बाँधिएको अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जनाए ।

‘महिलाको शव सडेगलेको अवस्थामा बेवारिसे भेटिएको थियो,’ उनले भने, ‘शव बेवारिसे भेटिए पनि हामीले अनुसन्धान गरेका थियौं ।’ घाँटीमा डोरी बाँधिएको अवस्थामा भेटिएपछि प्रहरीले शंका व्यक्त गरेको थियो । ‘पहिचान नभएको शव भेटिएपछि हामीलाई अनुसन्धानमा गाह्रो भयो । तर, अनुसन्धान रोकेनौं,’ उनी भन्छन्, ‘अनुसन्धानलाई सहयोग पुग्ने गरी वैशाखतिर मान्छे हराएको निवेदन दर्ता भयो ।’ उक्त निवेदन मञ्जुका घरपरिवार (माइतीपक्ष) ले दिएका थिए ।

घटनास्थलबाट प्रहरीले संकलन गरेका सबुत प्रमाणलाई सहयोग पुग्ने गरी निवेदकले प्रहरीलाई हुलिया दिएका थिए । प्रहरीले उक्त बेवारिसे शवलाई उक्त निवेदनसँग जोडेर अनुसन्धान गर्न थाल्यो र पछि प्रहरी दोषीसम्म पुग्न सफल भयो । सञ्जु र हत्या आरोप लागेका प्रकाशबीच करिब तीन/चार वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनीहरुबीच सहवाससमेत हुने गरेको थियो । सञ्जुको पेटमा प्रकाशको गर्भ रहेको र प्रकाशले भ्रुण हत्या गर्न दबाब दिँदै आएको प्रहरीको दाबी छ । सञ्जुले प्रकाशको दबाब इन्कार गरेपछि हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी शाहीले जनाए । हत्या भएको दिन उनीहरुबीच जग्दीघाटमा दिउसो करिब १ बजेतिर भेट भएको उनको भनाइ छ ।

‘उनीहरुबीच शारीरिक सम्बन्ध पनि भएको रहेछ । जसबाट सञ्जुको पेटमा हत्या हुनुभन्दा पहिला चार÷पाँच महिनाको गर्भ थियो,’ उनले भने, ‘प्रकाशले भ्रुण हत्या गर्न दबाब दिएको र सञ्जुले इन्कार गर्दा उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।’ भ्रुण हत्या गर्न प्रकाशले सञ्जुलाई भारतसमेत लिएको प्रहरीको दाबी छ । कात्तिक २१ गते हत्या भएकी सञ्जुको सनाखत यही असार १ गते भएको थियो ।

सोही दिन जाहेरी लिएर आरोपित प्रकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले जनाए । थप अनुसन्धानका लागि आरोपित प्रकाशलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उनको भनाइ छ । सञ्जुको मात्र नभइ भ्रुणसमेत हत्या गरेकाले प्रकाशलाई जन्मकैदको माग गरिएको छ । उनलाई कर्तव्य ज्यानतर्फको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यस घटनामा बर्दिया प्रहरीले धेरैलाई अनुसन्धानको दायरामा ल्याएको थियो । ‘सञ्जुका घरपरिवारका सदस्यले प्रकाशसँग प्रेम सम्बन्ध रहेको भन्ने जानकारी गराउनु भयो,’ डिएसपी बोहराले भने, ‘घटनाका सबुत र उनीहरुबीचको कल रेकर्ड (फोनमा भएको कुराकानीको अभिलेख) चेक गर्दा दोषीको पहिचान भयो ।’ ‘प्रकाशसँग सञ्जुका परिवारले सोधखोजसमेत गरेका थिए,’ उनी भन्छन्, ‘तर, प्रकाशले कहिले कतै र कहिले कही भन्दै ठगी रहेका थिए ।’ प्रकाश र सञ्जु दुवै विवाहित हुन् ।

सञ्जु आफ्ना श्रीमान्सँग सम्बन्ध राम्रो नहुँदा माइती घर बस्दै आएकी प्रहरीले जनाएको छ । सञ्जुका करिब ८ वर्षका एउटा छोरा छन् । प्रकाशले कसुर स्वीकार नगरे पनि सबुत प्रमाण र कल डिटेलले उनीनै दोषी भएको ठहर हुने प्रहरीको दाबी छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ३० गते शनिबार