16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १६, २०८०  

कोहलपुर : पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको गरेको हो । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा गत बैशाख महिनामा ठगी मुद्दा दर्ता भएको थियो ।

बाँकेका एसपी सन्तोषसिंह राठोरका अनुसार रौनियारविरुद्ध गत बैशाख १० गते नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनले रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो । सोही अनुसार उनी पक्राउ परेको उनले बताए ।


पूर्वसांसदसमेत रहेका व्यवसायी रौनियारविरुद्ध बाँकेको जानकी गाउँपालिकाका शोभाराम यादवले जिल्ला प्रहरी कार्यालय बाँकेमा गत बैशाखमा ठगी मुद्दा दर्ता गरेका थिए ।
२०७६ माघमा यादव र रौनियारबीच एक क्रसर उद्योग किनबेच भएको थियो । यादवको नाममा रहेको जानकी –४ स्थित जय भोले बाबा क्रसर उद्योग रौनियारले यादवबाट किनेका थिए ।

एसपी राठोरले उनीहरुबीच १ करोड ६५ लाख रुपैयाँमा दुईजनाबीच उद्योग किनबेच गर्ने सम्झौता भएको बताए । सम्झौता अनुसार रौनियारले यादवलाई नगद् ९५ लाख रुपैयाँ बाँकी रुपैयाँको चेक दिएका थिए ।

‘रौनियारको मुद्दा हामीले हेरिरहेका छौं । पक्राउ पुर्जीसमेत जारी भइसकेको थियो,तर पक्राउ पर्न सक्नु भएको थिएन ,’ उनले भने, ‘उहाँले गैरकानुनी रुपमा उक्त उद्योग किनेको र रकम ठगीको आरोप छ । पक्राउ पर्नु भएको छ । थप प्रक्रिया सुरु हुन्छ ।’
रौनियारले किनेको उद्योग त्यही वर्षको मंसिर महिनामा बाँके जिल्ला अदालतले किनबेच नगर्न अन्तरिम आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।विरगन्ज महानगरपालिकावडा नम्बर १० का स्थायी बासिन्दा रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।
सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

प्रकाशित मितिः शनिबार, असार १६, २०८०     12:17:18 PM  |