कोहलपुर : २०औं राष्ट्रिय धान दिवस बाँकेमा भव्य रुपमा मनाइएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारको आयोजनामा दिवस भव्य रुपमा मनाइएको हो । ‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ जिल्लाका अधिकांश ठाउँमा दिवस मनाइएको थियो ।

कोहलपुर नगरपालिका, बैजनाथ र खजुरा गाउँपालिका लगायतका पालिकाले औपचारिक कार्यक्रमको आयोजना गरेरै दिवस मनाएका थिए । यसवर्ष बाँकेमा विगत भन्दा एकदमै कम धान रोपाइँ भएको छ । बाँकेमा अहिलेसम्म जम्मा १५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।
कृषि ज्ञान केन्द्र, बाँकेले २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । केन्द्रको आयोजनामा डुडुवा गाँउपालिका वडा नम्बर २, कोल्ही गाँउमा दिवस मनाइएको थियो ।

दिवस अन्तर्गत बैजनाथ गाउँपालिकामा धान रोप्ने मेसिनद्धारा धान रोपेर दिवस मनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनका अनुसार कृषि क्षेत्रको आधुनिकिकरण गर्न गाउँपालिका लागि परेको छ । बैजनाथमा पालिका प्रमुखसँग किसान कार्यक्रम लागू हुँदै आएको छ । आगामी आर्थिक वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यस्तै कोहलपुर नगरपालिकाले पनि वडा नम्बर १५ पर्सेनिपुरमा किसानहरुसँग दिवस मनाएको छ । कृषि विकास शाखाको आयोजना र सुनौलो कृषक समूहको सह–आयोजनामा दिवस मनाइएको हो । उक्त अवसरमा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए ।
नगर कृषि शाखामार्फत किसानका समस्याका लागि प्रयास भइरहेको उनले बताए । कृषि पेसालाई सम्मानजनक पेसाका रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।‘ दिवसलाई एक दिन मात्रै मनाउने होइन । अरु बेला किसानलाई हेर्दै नहेर्ने त्यसो हुन सक्दैन,’ उनले भने,‘स्थानीय सरकार र किसानबीचको समन्ध सुमधुर हुनुपर्छ । कृषि पेसालाई प्रविधि अनुसार अघि बढाउनुपर्छ ।’
खजुरामा पनि अध्यक्ष डम्बर बहादुर बिक तुफानको प्रमुख आतिथ्यतामा वडा नम्बर ३ मनकामनामा धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो ।
नेपाल कृषि प्रधान देश भएको र नेपाली कृषिमा आत्मनिर्भर रहेकोले पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै २०८०÷०८१ को बजेटमा खजुराका कृषकका लागि १ करोड १२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको अध्यक्ष विकले बताए । कृषिको विकास र बजारीकरणका लागि गाउँपालिका सधैँ कृषकको साथमा रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्