17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

आज सहकारी दिवस : सहकारीले तहसनहस बनाइएका अर्जुन र मञ्जु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १६, २०८०  

शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुरकी मञ्जु सिग्देलले सहकारीमा पैसा जम्मा गर्नुको कारण थियो, ‘घरमा कोही बिरामी पर्दा, ब्याज तिर्दा घर व्यवहार चलाउँदा काम लाग्छ ।’ सोही कारण उनले दैनिक कोहलपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा पैसा जम्मा गर्थिन् । उनलाई लाग्दैथ्यो, ‘सहकारीले पैसा ठग्ला ।’


घर व्यवहार चलाउन र भएको व्यवसायलाई निरन्तरता दिन कसैलाई हात फैलाउन नपरोस् भनेर उनी विगत ६ वर्षदेखि सहकारीमा पैसा जम्मा गरिरहेकी थिइन् । उनी कोहलपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा दैनिक न्यूनतम् ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म बचत गर्थिन् ।

कोहलपुर–५ रझेनाका अर्जुन र मञ्जु सिग्देलले बसपार्क नजिकै अंकित ट्रेडर्स चलाउँछन् । हरेक दिन बिहानदेखि साँझसम्म भएको आम्दानी जति सबै सहकारीमा जम्मा गर्थे, सिग्देल दम्पति । हरेक दिनको कमाइ, अन्य ठाउँबाट आएको पैसा र सामाजिक सुरक्षा भत्तासमेत शिव शिखरमा जम्मा गर्दै आएका थिए उनीहरु ।

‘बुढाले विदेश हुँदा कमाएको । व्यवसायबाट भएको आम्दानी सबै यसैमा जम्मा गर्दै आएका थियौँ । अरु सहकारीको पैसा पनि यसैमा जम्मा जथ्र्यौँ,’ मञ्जु सुनाउँछिन् । देशभरि विभिन्न शाखा भएको शिव शिखरको कोहलपुरस्थित शाखामात्रै उनीहरुको एक करोड रुपैयाँ बचत छ ।

बाँकेमा शिव शिखरबाट ठगिएकाहरुमध्ये सबैभन्दा धेरै बचत रहेकामध्ये एक हुन् उनीहरु । शिव शिखर सहकारीका कारण यतिबेला बाँकेका २० हजार बचतकर्ताको ७८ करोड रुपैयाँ हिनामिना भएको छ ।
तर, गत वर्षको असारबाट उनीहरुले आफ्नो एक रुपैयाँ चलाउन पनि पाएका छैनन् । विगत ६ महिनायता सहकारीका कर्मचारी पनि बचतका लागि आएका छैनन् ।

सहकारी बन्द हुँदा जिन्दगीभरि दुःख गरेर कमाएको एक करोड रुपैयाँ पाउने हो होइन उनीहरुलाई ठूलो चिन्ता परेको छ । २०७९ जेठ ५ गते ५६ वर्षीय अर्जुनको एक्कासी ‘बे्रन स्टक’ भयो । उनलाई सिधै उपचारका लागि भारतको मेदान्त अस्पताल लगियो । तत्काल अप्रेसन भयो । केही निको भयो । केही महिनापछि फेरि टाउकोको अप्रेसन गरियो ।

‘उहाँ सिकिस्त बिरामी हुनुभयो । अवस्था गम्भीर थियो । बाँच्नु होला भन्ने आसै थिएन । भगवान्को कृपाले बाच्न सफल हुनुभएको छ,’ मञ्जु भन्छिन् ।
एक वर्षदेखि अर्जुन भने पूर्णरुपमा परनिर्भर भएका छन् । उनको दायापट्टिको पूरै शरीर प्यारालाइसिसले थला परेको छ । हात चल्दैन । खुट्टा अलिअलि चल्छ । मञ्जुसँगै बसेका अर्जुन बोले, ‘१५ वर्ष विदेशमा दुःख गरेको पैसा म बिरामी हुँदा काम लागेन । श्रम गरेर कमाएको पैसा सहकारीको विश्वास गर्दा डुब्यो । ऋण गरेर उपचार गराउनु प¥यो ।’

उनी अहिले दैनिक घरमै थेरापी गराइरहेका छन् । थेरापीमा दैनिक पाँच सय रुपैयाँभन्दा बढी लाग्छ । बेलाबेलामा फलोअफका लागि लखनउ गइरहनुु पर्छ ।
अहिलेसम्म उपचारका लागि ३० लाख रुपैयाँ खर्च भइसकेको छ । सबै ऋण गरेर उपचार गरेको अर्जुन बताउँछन् । ऋण गरेर उपचार गरेको पैसा अहिलेसम्म नतिरेको उनले बताए ।

‘एक करोड पैसा फसेको छ । आर्थिक मन्दीका कारण व्यवसाय पनि राम्रो चलेको छैन,’ मञ्जु आफ्नो विवशता सुनाउँछिन्, ‘श्रीमान्को उपचार गराउन पैसा छैन । अहिले घर व्यवहार चलाउनसमेत मुस्किल परेको छ ।’ एक वर्षयता सिग्देल परिवार चिन्तामा छ । चिन्ता नलागोस् पनि कसरी । सहकारीमा एक करोड रुपैयाँ बचत गर्ने अवस्थासम्म आइपुग्दा सिग्देल केके सम्म काम गरेनन् । कहाँकहाँ पुगेनन् ।

तनहुँका रैथाने सिग्देलकी आमा २०३९ सालतिर बसाइँ सरेर बर्दिया आएकी थिइन् । पछि उनको परिवार बाँके आयो । पहिला नेपालगन्जमा डेरा लिएर बस्थे । पछि बाँच्ने साहारा खोज्दै कोहलपुर आए । अर्जुनकी आमा शान्तिदेवी सिग्देल आफूले निकै दुःख गरेर परिवार पारेको बताउँछिन् । २०४५ सालतिरबाट उनीहरुको कोहलपुरमा बस्न थालेका हुन् ।

सम्भावना खोज्दै अर्जुन २०५३ सालमा वैदेशिक रोजगारीका लागि कतार गए । त्यहाँ उनी तीन वर्ष बसे । २०५७ सालमा घर फर्किए । विदेशबाट कमाएको पैसाले उनले खुकुरापालन व्यवसाय सुरु गरे । केही वर्ष व्यवसाय सञ्चालन गरेर उनी फेरि विदेशिए । २०६४ सालमा आफू साउदी अरब गएको उनले बताए । त्यहाँ उनी लगातार १२ वर्ष बसे ।

२०७२ सालमा उनी दुई महिनाको बिदामा आएका थिए । २०७६ मा भने उनी सधैका लागि आफ्नै देश फर्किए । जम्मा १५ वर्षभन्दा बढी उनी विदेशमा बसेर दुःख गरेर कमाएको पैसा फसेको भन्दै चिन्ता प्रकट गर्छन् ।
अंकित ट्रेडर्स भने २०७३ सालमा स्थापना भएको थियो । पछि उनले नै व्यवसायको सबै कुरा सम्हाले । विदेशबाट आएपछि उनले व्यवसाय सुरु गरे । त्यसपछि सिग्देल परिवारले कहिल्यै पछि फर्केर हेर्नु परेको थिएन ।

मञ्जु भने एक वर्षदेखि आफ्नो परिवारलाई दशा लागेको बताउँछिन् । त्यतिबेला नै श्रीमान् बिरामी हुनुभयो । त्यसको दुई महिनापछि सहकारीको समस्या सुनियो । आर्थिक मन्दीका कारण व्यवसाय राम्रो छैन । अहिले कमाइ गर्ने मान्छे नै थला परेपछि उनीहरुलाई निकै समस्या भएको छ । अहिले व्यवसाय सञ्चालनको लागि सामान किन्न र उपचार गराउन समस्या भइरहेको बताउँछिन् ।

‘श्रीमान्को उपचारका लागि ऋण गरे । ब्याज तिर्नसमेत हम्मे भएको छ । साह्रै समस्या भएको छ,’ उनी भन्छिन् ।
अब उनीहरुको आशा भनेकै पैसा छिटो पैसा फिर्ता होस् भन्ने छ ।

पैसा फिर्ता भएपछि श्रीमान्को उपचारमा लागेको ऋण तिर्ने, अरु सरसापट फिर्ता गर्ने र श्रीमान्को उपचार गर्ने सोच छ । ‘सहकारीलाई विश्वास गरेर बचत गरियो । यसरी विश्वास घात होला भन्ने सोचेकै थिएनौँ । यस्तो समस्या आइलाग्यो । घर धान्नसमेत समस्या भयो । हाम्रो पैसा फिर्ता गरेको भए सहज हुन्थ्यो ।’ उनले भनिन् ।

अब, सिग्देल दम्पतिसहित बाँकेका बचतकर्ताहरुको एक सुत्रीय माग छ, ‘बचत फिर्ता ।’ तर उनीहरुलाई अझै बचत फिर्ता होला भन्ने आशा भने मरिसकेको छ । मञ्जु सोध्छिन्, ‘हाम्रो बचत फिर्ता होला त बाबु ।’

प्रकाशित मितिः शनिबार, असार १६, २०८०     12:01:20 PM  |