नरैनापुरमा गाउँब्लक जग्गाको लालपूर्जा वितरण सुरू



बाँके ।

नरैनापुर गाउँपालिकामा गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण थालिएको छ । साविक नरैनापुर गाउँ विकास समितिबाट गाउँब्लक जग्गाको लालपूर्जा वितरणको काम थालिएको हो ।

शुक्रबार सो कार्यको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) र गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले संयुक्त रूपमा शुम्भारभ गरेका थिए ।

पहिलो चरणमा साविक नरैनापुर गाउँ विकास समितिको गाउँब्लक जग्गाको लालपूर्जा ७७ जनालाई वितरण गरिने नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले जानकारी दिए ।

पहिलोपटक नरैनापुरमा गाउँपालिकामा साविक नरैनापुर गाउँ विकास समितिबाट गाउँब्लक जग्गाको लालपूर्जा वितरण थालिएको उनले बताए । ‘कोहलपुर कार्यालयबाट कर्मचारीहरू खटाएर गाउँब्लक जग्गाको नापजाँच गरेका थियौं’ कार्यालय प्रमुख सुवेदीले भने, ‘चर्को गर्मीको समेत कुनै प्रवाह नगरी कर्मचारी साथिहरू फिल्डमा खटिएर काम गर्दा अहिलेको नतिजा आएको हो ।

यसका लागि कर्मचारी साथिहरूलाई धन्यवाद दिन चाहान्छु ।’ स्रोत र साधनको कमी हुँदा बाँकेमा साविक १६ वटा गाउँ विकास समितिमा गाउँब्लक जग्गाको नापजाँच हुन नसकेको उनले जानकारी दिए । आफूहरूलाई स्रोत र साधनको समस्या हुँदा काम गर्न गाह्रो समेत भइरहेको कार्यालय प्रमुख सुवेदीले बताए ।

नरैनापुरमा समेत क्रमशः गाउँब्लकका जग्गा नापजाँच गरेर लालपूर्जा दिइने उनले जानकारी दिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य ढकाल, प्रदेश सभा सदस्य नमुना र गाउँपालिका अध्यक्ष शाहले तत्काल नरैनापुरमा ईलाका प्रशासन, नापी र मालपोत कार्यालय स्थापनाका लागि पहल थाल्न मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

साविक अन्य गाउँ विकास समितिमा गाउँब्लकका जग्गा नापजाँच गरेर लालपूर्जा दिनुपर्ने उनीहरूले जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १६ गते शनिबार