नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकाभित्रकै बालबालिकालाई उनीहरुका अभिभावकले एउटै डोजसम्म पनि खोप नलगाउने गरेको भेटिएको छ । बिहीबार आर्थिक वर्ष २०७९÷०८० का लागि बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
पूर्ण खोप सुनिश्चिता घोषणा गर्नका लागि युनिसेफको सहयोगमा समुदायस्तरमा खोपबारे अभिमुखिकरण र महिला स्वयम्सेविकासहित सघन घरधुरी सर्वेक्षण भएको थियो ।
उक्त सर्वेक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिकाभित्र नै सबैभन्दा धेरै बालबालिका पूर्ण र आंशिकरुपमा खोपबाट वञ्चित भएको भेटिएको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र १६ देखि २३ महिनाका आठ हजार तीन सय ३६ र २४ देखि ५९ महिनाका १५ हजार १८ जना बालबालिका सर्वेक्षणमा फेला परेका थिए ।
त्यसमध्ये नेपालगन्जका ९६ बालबालिका शून्य र एक सय ६७ बालबालिका आंशिकरुपमा खोप लगाउनबाट वञ्चित भएको पाइएको छ । खोपबाट वञ्चित यि बालबालिकालाई हाल सबै खोप प्रदान गरिसकिएको छ ।

गाउँभन्दा सरहभित्रकै बालबालिका खोपबाट वञ्चित हुने अवस्था आउनु दुःखद् भएको सरोकारवाला बताउँछन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा उनले यस अभियानमा सहभागी हुने स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई धन्यवाद दिए ।
बाँकेका प्रदेश सांसद बादशाह कुर्मीले समुदाय विशेषमा खोप लगाउने समस्य भएको बताउँदै आगामी दिनमा त्यस्ता समुदायलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले खोप लगाए अनेक समस्या आउँछ भन्ने अनावश्यक भ्रममा केही समुदाय रहेकाले पूर्ण खोप सुनिश्चिता गर्न समस्या भएको उल्लेख छ ।
बाँकेमा ३५ हजार आठ सय १९ जना बालबालिका खोप कार्यक्रममा समेटिएका छन् । लक्षित बालबालिका खोपबाट वञ्चित नहोउन भन्नका लागि गत माघदेखि घरधुरी सर्वेक्षणको काम थालिएको थियो । सर्वेक्षणका क्रममा भेटिएका खोपबाट वञ्चित भएका बालबालिकालाई खोप लगाइएको थियो ।
कार्यक्रममा प्रदेशस्तरबाट खोपको गुणस्तर कायम राख्नका लागि खोपको ‘कोल्ड चेन’ व्यवस्थापन राम्रो गर्नुपर्ने, प्रत्येक वर्ष खोज रणनीति अवलम्बन गर्दै पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनुपर्ने सुझाव दिइएको छ । पूर्णखोप सुनिश्चिताका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने र स्थानीयस्तरमा कोल्डचेन निर्माण गर्ने रणनीति तय भएको जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले बताए ।









प्रतिक्रिया दिनुहोस्