16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

वडावडामा जग्गा नाप्दै कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १५, २०८०  

कोहलपुर, कोहलपुर नगरपालिकाले भूमि आयोगसँगको समन्वयमा यहाँका वडाहरुमा जग्गा नापजाँच कार्य सुचारु गरेको छ । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरेर जग्गा नापजाँच सुरु गरिएको हो ।

नगरपालिकाका अनुसार अहिले कोहलपुर नगरपालिका वडा नम्बर ५ र ८ मा नापजाँच सुरु भएको छ । कोहलपुर नगरपालिका राष्ट्रिय भूमि आयोग संकलन ईकाइ प्रमुख वीरबहादुर विकले वडा नम्बर ८ मा नगर प्रमुखसहितको उपस्थितिमा बुधबारबाट जग्गा नापजाँच सुरु भएको बताए ।

वडा नम्बर ५ मा पनि जग्गा नापजाँच भइरहेको उनले बताए । राष्ट्रिय भूमि आयोग संकलन ईकाइले अहिलेसम्म वडा नम्बर १, २ र १० नम्बर वडामा नापजाँच सम्पन्न भइसकेको प्रमुख विकले बताए ।

‘अहिलेसम्म तीनवटा वडामा नापजाँच सकिएको छ । दुईवटा वडामा भइसकेको छ,’ उनले भने, ‘अन्य वडामा बिस्तारै सुरु हुनेछ । चालु आर्थिक वर्षमा सक्ने लक्ष्य थियो । लक्ष्य पूरा भएन । अर्को आर्थिक वर्षमा जग्गा नापजाँच सम्पन्न हुन्छ ।’ वडा नम्बर १२ मा केही दिनमा जग्गा नापजाँच सम्पन्न हुने उनको भनाइ छ ।

लगत्तै वडा नम्बर ३, ४ र ६ मा नापजाँच सुरु हुने उनले बताए । त्यसपछि क्रमशः बाँकी वडाहरुमा आयोगले जग्गा नापचाँजको काम सुरु गर्नेछ ।
कोहलपुरमा १६ हजार पाँच सयजना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुको फाराम संकलन गरिएको र्ईकाइ कार्यालयले जनाएको छ ।

उनले विभिन्न वडामा वन तथा राष्ट्रिय निकुञ्जको अवरोध र कानुनी अड्चनका लागि समस्या देखिएको समाधानको पहल भइरहेको जानकारी दिए ।

उनी भन्छन्, ‘लालपुर्जा वितरण गर्नका लागि स्थानीय सरकार र यहाँका राजनीतिक दलहरु एकजुट हुनुहुन्छ । उहाँरुले यहाँको समस्या प्रधानमन्त्री तहसम्म सुनाउनु भएको छ । सकारात्मक पहल भएको छ । छिटो समस्या समाधान भए । हामीलाई काम गर्न सहज हुने अपेक्षा राखेका छौं ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य नगरपालिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरणका लागि प्रयासरत भएको बताउँछन् ।

उनले लालपुर्जा वितरणको लागि सबै सरोकारवाला निकायहरुबीच एकमत भएको भन्दै छिट्टै लालपुर्जा वितरण गर्नेगरी नगरपालिकाले काम गरिरहेको बताएका छन् ।

 

प्रकाशित मितिः शुक्रबार, असार १५, २०८०     11:43:45 AM  |