कोहलपुर, असार मध्य सातासम्म आइपुग्दा बाँकेमा जम्मा १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यसपालि समयमै वर्षा नहुँदा गत वर्षभन्दा कम धान रोपाइँ भएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीका अनुसार बाँकेमा असार १५ गतेसम्म १५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।
यस वर्ष असार मध्यतिर आइसक्दासमेत वर्ष नभएका कारण धान रोपाइँ अपेक्षाकृतरुपमा हुन नसकेको उनको भनाइ छ । केसीले यो वर्ष हिउँदमा समेत राम्रो पानी नपरेका कारण रोपाइँ हुन नसकेको बताए । गत वर्ष असार १५ सम्म २५ प्रतिशत धान रोपाइँ भइसकेको थियो ।

‘बाँकेमा धान रोपाइँ सुस्त छ । पानी राम्रोसँग पर्न सकेको छैन । पानी नपरेका कारण यसको प्रत्यक्ष असर देखिएको छ,’ उनले भने, ‘अस्ती एक दिन एकपटक मात्रै अलिअलि पानी परेको थियो । त्योको पानी पर्याप्त हुन सकेन ।’ बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती हुँदै आएको छ । समयमै रोपाइँ नहुँदा बाँकेमा धान उत्पादन घट्ने अनुमान गरिएको छ । बाँकेमा एक लाख नौ हजार दुई सय १४ मेट्रिक टन अन्न आवश्यक पर्छ ।
गत वर्ष बाँकेमा एक लाख दुई हजार सात सय ४४ धान गहुँ मकै उत्पादन भएको थियो । गत वर्ष चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने आँकलन गरिए पनि अन्तिम समयमा आएर बाढीले गर्दा धान खेतीमामा ठूलो क्षति पुगेको थियो । त्यतिबेला ६ हजार चार सय ६७ मेट्रिक टन धान उत्पादन अपूर्ण भएको र आयात गरिएको उनले बताए । बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गर्छन् ।
कोहलपुरमा करिब पाँच प्रतिशत धान रोपाइँ भएको शाखा प्रमुख चन्द्रबहादुर बुढाले बताए । राप्तीसोनारी गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकुमारी शाहीका अनुसार असार १५ सम्म दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ । यस्तै डुडुवा गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक हनुमानप्रसाद यादवले अहिलेसम्म दुई प्रतिशत मात्रै धान रोपाइँ भएको जानकारी दिए ।
जानकी गाउँपालिकाका प्राविधिक सहायक मनोज मण्डल गाउँपालिकामा अनुमानित पाँचदेखि १० प्रतिशतसम्म धान रोपाइँ भएको बताउँछन् । खजुरा गाउँपालिकामा कूल करिब पाँच प्रतिशत धान रोपाइँ भएको छ । नेपालगन्ज उपहानगरपालिकामा धानखेती सुरुवात हुने चरणमा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्