शुभाकर विश्वकर्मा,कोहलपुर
बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा पाँच किलोमिटर सडक कालोपत्रे गरेको छ । चालु आर्थिक वर्ष (आव) मा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बैजनाथले एक वर्षमा पाँच दशमलब दुई किलोमिटर सडक कालोपत्रे गरेको हो ।
गाउँपालिकाका योजना तथा अनुगमन शाखाका अधिकृत डोटी नेपालीका अनुसार गाउँपालिकाका सबै वडामा कालोपत्रे गरिएको छ । उनले वडा नम्बर १ मा दुईवटा सडक कालोपत्रे सम्पन्न भएको बताए । वडा नम्बर १ को सूर्योदय स्कुलदेखि करेली जाने बाटोसम्म ६ सय मिटर कालोपत्रे सम्पन्न भएको छ । उक्त योजनाको लागत अनुमान ७९ लाख भए पनि ४० लाख रुपैयाँमा कालोपत्रे सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै वडा नम्बर १ कै महादेव चोकदेखि जनजागरण जाने बाटोमा कल्भर्टसहित दुई सय ८० मिटर बाटो कालोपत्रे सम्पन्न भएको छ । ४९ लाख लागत अनुमान गरिएको बाटो ३२ लाख ठेक्का सम्झौता भइ निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्बर २ मा पाँच सय ५० मिटर पक्की सडक निर्माण भएको छ ।
वडाको बोनशक्ति चौतारा हुँदै कलारापुरसम्म पाँच सय ६० मिटर कालोपत्रे निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना तथा अनुगमन शाखाका अधिकृत नेपालीले जनाए । ‘यसमा ७९ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामार्फत ४३ लाख लागतमा निर्माण सम्पन्न भएको छ,’ उनले जनाए ।
उनका अनुसार वडा नम्बर ३ मा दुई सय ५० मिटर पक्की सडक कालोपत्रे र एक हजार ५४ मिटर पक्की नाली निर्माण भएको छ । नौवस्ता गाउँदेखि पुल्चोक हुँदै भमरी कुनासम्म सडक कालोपत्रे र पक्की नाला निर्माण भएको उनको भनाइ छ । उक्त योजनाको ८९ लाख रुपैयाँमा सम्पन्न भएको छ । वडा नम्बर ३ कै वर्थिङ सेन्टरदेखि नौवस्ता गाउँसम्म दुई सय ७८ मिटर कालोपत्रे सडक निर्माण भएको छ । यो सडकमा १७ लाख रुपैयाँ खर्च भएको छ ।
वडा नम्बर ५ को डुडुवागाउँ–गडरही–रामपुर हुँदै छमनिया जोड्ने सडक एक हजार ५४ मिटर कालोपत्रे भएको अधिकृत नेपालीले बताए । उनका अनुसार यसमा ६६ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ ।
वडा नम्बर ६ दोन्द्रा चौतारादेखि कुमार खत्रीको घरसम्म दुई सय ७५ मिटर कालोपत्रे सम्पन्न भएको छ । ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना ठेक्कामार्फत २२ लाख रुपैयाँमा निर्माण गरिएको हो । वडा नम्बर ७ मा कँडेलपुरदेखि परशुरामपुर जाने पाँच सय ५० मिटर कालोपत्रे सम्पन्न भएको छ । यसमा ७९ लाख लागत अनुमान गरिएको बाटो ठेक्कामार्फत ४६ लाख रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न भएको छ ।
वडा नम्बर ८ को छपुवा बलवानपुर चोकदेखि एच गाउँ जोड्ने बाटोसम्म दुई ६२ मिटर कालोपत्रे भएको थियो । यसमा १७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ । यस्तै गडरही चोकदेखि रामपुर गाउँपालिका कार्यालयसम्म एक करोड २२ लाखमा एक हजार दुई सय मिटर सडक कालोपत्रे निर्माणको अन्तिम चरणमा रहेको अधिकृत नेपालीले जानकारी दिए ।
‘गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चालु आवमा पाँच किलोमिटर सडक निर्माण गरेको छ । यसले स्थानीय नागरिकलाई आवातजावतमा सहज भएको छ,’ उनले भने, ‘सबै वडाको केन्द्रसम्म सडक पुगेको छ । यस वर्ष बस्तीसम्म पु¥याउने लक्ष्य छ । सोही योजना बजेट पनि विनियोजन भएको छ ।’
बैजनाथमा २९ दशमलब ७६३ किलोमिटर सडक ग्राभेल, स्तरोन्नति तथा मर्मत गरिएको छ । एक हजार ८८ मिटर पक्की नाला, १० वटा पक्की पुल तथा कल्भर्ट, दुई सय ४४ तटबन्ध तथा नदी नियन्त्रण भएको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताइन् । उनका अनुसार बैजनाथका सम्पूर्ण वडामा सडक सञ्जाल जोडिएको छ । चाल आवको जेठ मसान्तसम्म ८० दशमलब ०६ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्