कोहलपुर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीका महिलालाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको छ । राप्तीसोनारी वडा नम्बर ९ को आर्थिक सहयोगमा उनीहरुलाई १५ दिने पञ्चेबाजा बजाउन सिकाउने तालिम प्रदान गरिएको हो ।
कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समितिको आयोजनामा महिलाका लागि १५ दिने तालिम जेठ ३० गतेदेखि सुरु भएको थियो । उक्त १५ दिने तालिमको बुधबार एक कार्यक्रमका बीच समापन गरिएको छ । योसँगै कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समिति, राप्तीसोनारी–९ ले महिला पञ्चेबाजा टिम तयार गरेको छ ।
थारु, क्षेत्री तथा दलित समुदायका सातजना महिला पञ्चेबाजा बजाउन सक्ने भएका छन् । पञ्चेबाजा बजाउनका लागि सुर्खेत गुर्भाकोटका प्रशिक्षक थलबहादुर परियारले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
उक्त अवसरमा बोल्दै समितिका प्रबन्ध निर्देशक कवीन्द्र परियारले दलित समुदायको पुख्र्यौली पेसा संरक्षणका लागि महिलाहरुको टिम तयार भएको बताए । उनका अनुसार अब उक्त टिमले गाउँघरमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छ । ‘हामी संस्कृति संरक्षणमा जुटेका छौं । यो हाम्रो साना प्रयास हो । आगामी दिनमा संस्कृति संरक्षणका लागि सामाजिक कार्यसमेत गर्नेछौं,’ उनले भने ।

उक्त अवसरमा संस्थालाई सहयोग गरी संस्थागत विकासमा योगदान गर्ने दुईजनालाई सम्मान गरिएको छ । समितिले शिक्षक तथा समाजसेवी सागरदत्त गौतमलाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गरेको हो । यस्तै प्रशिक्षक परियारलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । तालिममा सहभागीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको परियारले बताएका छन् । आगामी दिनमा पनि महिलाहरुलाई थप तालिमको व्यवस्थापन गरिने उनले बताए ।
कला संस्कृति तथा पन्चेबाजा संरक्षण समितिको व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले पनि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी (नमुना) को सहयोगमा समितिको स्तरोन्नति तथा विकासका लागि पाँच लाख रुपैयाँ विनियोजित गरिएको हो । समिति स्वर्गीय मोतिलाल परियारको अगुवाइमा स्थापना भएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेमा १६९९औँ गैरसरकारी संस्थाको रुपमा दर्ता भएको छ ।









प्रतिक्रिया दिनुहोस्