कोहलपुर बसपार्क साउन पहिलो साताबाट सञ्चालन हुने



कोहलपुर ।

कोहलपुरस्थित चौराहा नजिकै निर्माण गरिएको लामो दुरीको बसपार्क साउन पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क साउन पहिलो साताभित्रै औपचारिकरुपमा सञ्चालन आउने भएको हो ।

बसपार्कको संरचना निर्माण भए पनि सटरलगायतका संरचना ठेक्का प्रक्रिया लम्बिँदा केही समय ढिला गरी सञ्चालनमा आउन थालेको कोहलपुर नगरपालिकाले जनाएको छ । लामोदुरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुर ११ बाँकेले प्राप्त गरेसँगै बसपार्क सञ्चालनको बाटो खुलेको हो ।

प्रालिले अब बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्नेछ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर छन् । तीमध्ये चारवटा सटर मात्रै बिक्री हुन बाँकी छन् । बाँकी सटर बिक्री भइसकेका छन् ।

बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यका अनुसार बसपार्कको सम्पूर्ण व्यवस्थापनका लागि सैद्धान्तिक सहमति भइसकेको छ । अब सम्झौतामार्फत औपचारिकता दिन मात्रै बाँकी रहेको उनले बताए । नगरपालिकासँग समन्वय गरेर केही दिनमा औपचारिकरुपमा सम्झौता गरिने उनको भनाइ छ । केही दिनभित्रै सम्झौता गरेर साउन १ गते उद्घाटन गरेर बसपार्क सञ्चाल गर्ने तयारी भएको उनले जनाए । ‘अब औपचारिक सम्झौता हुन्छ । त्यसका लागि नगरपालिकासँग समन्वय गरिरहेका छौं । लामो प्रतीक्षापछि अब बसपार्क सञ्चालन हुने भएको छ,’ उनले भने ।

प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न पाउने गरी अन्तिम सम्झौताको तयारी भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ । उक्त प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ । अध्यक्ष आचार्यले नगरपालिकाले निर्माण गरेको बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधिको अधिनमा रहेर नयाँ कार्यविधि बनाउने र सोहीअनुसार लामो दुरीका यातायात सञ्चालन हुने जानकारी दिए ।

लामोदुरीको बसपार्क सञ्चालन भएपछि अबदेखि लामो दुरीका सवारी कोहलपुरबाटै छुट्ने छन् । अहिलेसम्म लामो दुरीका यातायात नेपालगन्जबाट मात्रै छुट्ने गरेका छन् । कोहलपुरमा निश्चित कोठा मात्रै थियो । कोहलपुरमा बसपार्क सञ्चालनमा आउँदा यहाँको व्यावसायिक क्षेत्र चलायमान हुने उनी बताउँछन् ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बसपार्क सञ्चालनको अन्तिम तयारी भइरहेको बताए । उनका अनुसार बागेश्वरीले निर्माण जिम्मा लिने भएको छ । अन्तिम टुंगो लगाउन सूचना जारी गरिएको छ । केही दिनमा सम्झौता सम्भव भएमा ढिलोमा साउन पहिलो साताबाटै बसपार्क सञ्चालन हुने उनको भनाइ छ । कोहलपुर नगरपालिकाले नगर विकास कोषसँगको ऋण सम्झौतामा लामोदुरीको बसपार्क निर्माण गरेको हो ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ । बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायतका सबै संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार